काठमाडौं । कागेश्वरी मनोहरा नगरपालिका–५ बाट टोले गुण्डागर्दी सम्बन्धी कसुरमा एक व्यक्ति पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका–६ स्थायी ठेगाना भई हाल कागेश्वरी मनोहरा–५ मा बस्दै आएका ३७ वर्षीय श्याम लामा भन्ने श्यामबहादुर तामाङ रहेका छन् ।
प्रहरी वृत्त बौद्धबाट खटिएको टोलीले उनलाई बिहीबार दिउँसो करिब १२ बजे नियन्त्रणमा लिएको हो ।
प्रहरीका अनुसार तामाङमाथि यसअघि पनि विभिन्न आपराधिक घटनामा संलग्न भएको देखिएको छ । अभिलेखअनुसार उनी अपहरण तथा शरीर बन्धक र अभद्र व्यवहार सम्बन्धी मुद्दामा पटक–पटक पक्राउ परिसकेको खुलेको छ ।
उनीविरुद्ध २०७० सालमा प्रहरी परिसर भक्तपुरबाट अपहरण तथा शरीर बन्धक मुद्दा, २०७५ सालमा इलाका प्रहरी कार्यालय मेलम्चीबाट अभद्र व्यवहार मुद्दा तथा २०७९ र २०८० सालमा प्रहरी वृत्त बौद्धबाट पुनः अभद्र व्यवहार सम्बन्धी मुद्दामा पक्राउ गरिएको तथ्य फेला परेको प्रहरीले जनाएको छ।