Jun 09 2026 | २०८३, जेठ २६ गते

09 Jun 2026 | मंगलवार, जेठ २६ गते २०८३

मंगलवार, जेठ २६ गते २०८३
images
images

रोजगारीको प्रलोभन देखाई नेटवर्किङ ठगी धन्दा, भारतबाट १२ जना पक्राउ

रोजगारीको प्रलोभन देखाई नेटवर्किङ ठगी धन्दा, भारतबाट १२ जना पक्राउ

मंगलवार , जेठ २६, २०८३

धनगढी । भारतमा आकर्षक तलब र राम्रो जागिरको प्रलोभन देखाएर नेपाली युवालाई नेटवर्किङ व्यवसायमा संलग्न गराई ठगी गरेको आरोपमा १२ जनाको समूह पक्राउ परेको छ ।

सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढी, जिल्ला प्रहरी कार्यालय कैलाली र कञ्चनपुरको संयुक्त टोलीले भारतीय दूतावास तथा अन्य सरोकारवाला निकायको समन्वयमा उनीहरूलाई नियन्त्रणमा लिई नेपाल ल्याएको हो ।

पक्राउ परेकाहरू नेपालका विभिन्न ९ जिल्लाका रहेको प्रहरीले जनाएको छ । पक्राउ पर्नेहरूमा गुल्मी, सप्तरी, काभ्रेपलाञ्चोक, अर्घाखाँची, ओखलढुंगा, पर्वत, मकवानपुर, पाल्पा र रुपन्देही जिल्लाका १२ जना रहेका छन्।

उनीहरूलाई महेन्द्रनगरस्थित गड्डाचौकी नाकाबाट नियन्त्रणमा लिइएको सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब महानिरीक्षक (डीआईजी) ओमबहादुर रानाले जानकारी दिए ।

अनुसन्धान अनुसार गिरोहले भारतको उत्तर प्रदेशस्थित ‘विन्सपायर वर्ल्ड कम्पनी’ नामक संस्थामा रोजगारी दिलाइदिने भन्दै युवाहरूलाई प्रलोभनमा पारी भारत लैजाने गरेको खुलेको छ।

प्रहरीका अनुसार त्यहाँ पुगेपछि पीडितहरूलाई सात दिनसम्म तालिम र प्रशिक्षणका नाममा मानसिक तथा भावनात्मक दबाब दिइन्थ्यो।

उनीहरूलाई कम्पनीको होस्टेलमा राख्ने, परिवारसँग सम्पर्क गर्न नदिने, मोबाइल नियन्त्रणमा राख्ने तथा प्रयोग गरे धम्की दिने जस्ता कार्य हुने गरेको अनुसन्धानमा देखिएको छ।

प्रहरीका अनुसार सामान्य कामका लागि समेत प्रतिव्यक्ति भारतीय रुपैयाँ १० हजार असुली गरिन्थ्यो। त्यसपछि पीडितहरूलाई नेटवर्किङ विस्तार र ‘क्लास’ प्रणालीमा संलग्न गराइन्थ्यो।

नयाँ सदस्य भित्र्याएबापत प्रतिव्यक्ति तीन लाख रुपैयाँसम्म आम्दानी हुने, मासिक ३५ देखि ४० हजार रुपैयाँ तलब पाइनेजस्ता झुटा आश्वासन देखाएर थप व्यक्तिलाई फसाउने गरिएको बताइन्छ । कतिपयलाई एक लाख रुपैयाँ लगानी गरे ठूलो नाफा हुने भन्दै प्रलोभन दिइएको पनि खुलेको छ ।

पीडितहरूले गत जेठ २२ गते जिल्ला प्रहरी कार्यालय कैलालीमा उजुरी दिएका थिए । उजुरीपछि सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयको समन्वयमा नेपाल, भारतका सुरक्षा निकाय तथा विभिन्न संस्थाहरूको सहयोगमा भारतको देहरादुनबाट पीडितहरूको उद्धार गरिएको हो ।

नयाँदिल्लीस्थित भारतीय दुतावासमा कार्यरत एसएसपी प्रकाश मल्ल आफै उक्त गिरोह ल्याएर नेपाल आएका हुन् । उक्त धन्दामा संलग्नको पनि खोजी कार्य जारी रहेको उनले बताए । अपरेशन जारी रहेको उनी एसएसपी मल्लले जानकारी दिए ।

स्रोतका अनुसार अछामकी एक युवती पनि उक्त गिरोहकी नाइके रहेको खुलेको छ । उनले युवायुवतीहरुलाई प्रलोभनमा पारेर ठग्ने गरेको पिडितहरुले बताएका छन् ।

पक्राउ परेकाहरूलाई कैलाली जिल्ला प्रहरी कार्यालयमा राखी ठगीसम्बन्धी मुद्दा दर्ता गरेर अनुसन्धान भइरहेको छ। अदालतबाट पाँच दिनको म्याद थप भई थप अनुसन्धान भइरहेको कैलालीका प्रहरी प्रमुख एसपी नरेन्द्र चन्दले जानकारी दिएका छन्।

प्रहरीका अनुसार घटनामा संलग्न केही व्यक्ति अझै फरार रहेकाले उनीहरूको खोजी कार्य जारी छ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077