झापा । झापाको दमकमा मृत अवस्थामा फेला परेकी २० वर्षीया रोमा भनिने रमा तिवारीको हत्या आरोपमा एकजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा भारतको बिहार घर भई दमकमा बस्दै आएका ३४ वर्षीय राकेश कुमार पण्डित छन् ।
रमाको शव गत जेठ १६ गते दमक नगरपालिका–१० स्थित रतुवा खोला किनारमा बोराभित्र राखिएको अवस्थामा फेला परेको थियो ।
घटनापछि अनुसन्धानमा जुटेको प्रहरीले कोशी प्रदेश प्रहरी कार्यालयको सहयोगमा दमकका डीएसपी हरिबहादुर बस्नेत नेतृत्वको टोली परिचालन गरी जेठ २१ गते पण्डितलाई पक्राउ गरेको हो।
झापाकी प्रहरी प्रमुख एसपी बसुन्धरा खड्काका अनुसार पक्राउ परेका पण्डितले प्रारम्भिक बयानमा रमासँग पैसाको विषयमा विवाद भएपछि हत्या गरेको स्वीकार गरेका छन् ।
उनले जेठ १३ गते साँझ मूल सडकबाट भित्र रहेको बाँसघारी क्षेत्रमा लगेर विवादका क्रममा रमाको घाँटी थिची हत्या गरेको बताएका छन् ।
उनी आफूमाथि शंका नपर्ने ठानेर पण्डित पुनः नेपाल फर्किएको र सोही क्रममा उनलाई नियन्त्रणमा लिन सफल भएको बताइएको छ ।
घटनाबारे थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ।