काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट करिब ५४ लाख ७१ हजार रुपैयाँ बराबरको स्वदेशी तथा विदेशी मुद्रा सहित नेपाल एयरलाइन्सका एक कर्मचारी पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा सुनसरीको गढी गाउँपालिका–१ स्थायी घर भई हाल काठमाडौंको बनस्थलीमा बस्दै आएका ५० वर्षीय कमल नारायण विश्वास रहेका छन् ।
उनी विगत १६ वर्षदेखि नेपाल एयरलाइन्समार्फत त्रिभुवन विमानस्थलमा ग्राउण्ड इक्विपमेन्ट अपरेटरका रूपमा कार्यरत थिए ।
विमानस्थल प्रहरीका अनुसार विश्वास सोमबार राति साढे ८ बजे बटिक एयरमार्फत भिजिट भिसामा मलेसियाको क्वालालम्पुर प्रस्थान गर्न लागेका थिए ।
तर, ब्यागेज स्क्रिनिङ तथा शरीर खानतलासीका क्रममा उनको कालो रंगको लगेजभित्र फलामको कराहीमा लुकाइएका विभिन्न देशका मुद्रा फेला परेको हो ।
प्रहरीका प्रवक्ता राजकुमार सिलवालका अनुसार बरामद गरिएको रकम वैधानिक रूपमा दरपिठ नगरिएको अवस्थामा फेला परेको हो । प्रारम्भिक जाँचमा उनले पछिल्ला वर्षहरूमा २६ पटक विदेश यात्रा गरेको समेत देखिएको प्रहरीले जनाएको छ ।
घटनापछि उनलाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागि राजस्व अनुसन्धान विभाग, हरिहरभवन, ललितपुर पठाइएको त्रिभुवन विमानस्थल प्रहरीले जनाएको छ ।