काठमाडौं । नेपाल प्रहरीका प्रहरी महानिरीक्षक दान बहादुर कार्की ले पदोन्नति भएका ४४ जना प्रहरी अधिकृतलाई दर्ज्यानी चिन्हद्वारा सुशोभित गरेका छन्।
नेपाल प्रहरी प्रधान कार्यालयमा शुक्रबार आयोजित विशेष समारोहमा उनीहरूलाई नयाँ पदको दर्ज्यानी चिन्ह प्रदान गरिएको हो।
नेपाल सरकारको जेठ २१ गतेको निर्णयअनुसार जनपदतर्फ १ र प्राविधिकतर्फ ३ जना गरी ४ जना प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी), जनपदतर्फ १ र प्राविधिकतर्फ १२ जना गरी १३ जना प्रहरी उपरीक्षक (एसपी), १६ जना प्राविधिक प्रहरी नायब उपरीक्षक (डीएसपी) तथा १४ जना प्राविधिक प्रहरी निरीक्षक (इन्स्पेक्टर) पदमा पदोन्नति भएका थिए। कुल ४७ जना पदोन्नति भएकामध्ये ४४ जनालाई शुक्रबार दर्ज्यानी चिन्ह प्रदान गरिएको हो।
नेपाल प्रहरीका अनुसार एक जना प्राविधिक प्रहरी उपरीक्षक र दुई जना प्राविधिक प्रहरी नायब उपरीक्षक हाल तालिमका लागि दक्षिण कोरियामा रहेकाले समारोहमा सहभागी हुन सकेनन्।
समारोहलाई सम्बोधन गर्दै आईजीपी कार्कीले पदोन्नति प्राप्त अधिकृतहरूलाई बधाई दिँदै नयाँ जिम्मेवारीसँगै अझ बढी सिर्जनशील, उत्तरदायी र संवेदनशील भएर काम गर्न निर्देशन दिए। उनले पदोन्नति केवल पद वृद्धि नभई कार्यक्षमता, इमानदारी, व्यावसायिक निष्ठा र सेवाप्रतिको समर्पणको मूल्याङ्कन भएको उल्लेख गरे।
उनले शान्ति सुरक्षा कायम गर्ने, अपराध अनुसन्धान तथा नियन्त्रण गर्ने जिम्मेवारीमा जनपद र प्राविधिक दुवै समूहको समान महत्व रहेको बताउँदै संगठनले पदोन्नति भएका अधिकृतहरूबाट थप सकारात्मक र निष्ठावान् भूमिका अपेक्षा गरेको बताए।
आईजीपी कार्कीले पदसँगै दायित्व र मर्यादाको दायरा पनि फराकिलो हुने भएकाले व्यक्तिगत स्वार्थभन्दा माथि उठेर संगठनको हितलाई प्राथमिकतामा राख्नुपर्नेमा जोड दिए। बदलिँदो सामाजिक तथा सुरक्षा चुनौतीका बीच निष्पक्ष, व्यावसायिक र जनउत्तरदायी ढंगले काम गर्दै नेपाल प्रहरीको छवि थप सुदृढ बनाउन उनले निर्देशन दिए।