काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने ले नेपाल–भारत सीमा विवादजस्ता संवेदनशील विषयहरू कूटनीतिक माध्यमबाट चरणबद्ध रूपमा समाधान गर्नुपर्ने बताएका छन्।
भारत भ्रमण सम्पन्न गरी स्वदेश फर्किने क्रममा शुक्रबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले यस्तो धारणा व्यक्त गरेका हुन्।
पत्रकारहरूले सीमा विवादबारे प्रश्न सोध्दा उनले विषयलाई हल्ला वा सार्वजनिक दबाबमार्फत होइन, कूटनीतिक प्रक्रियाबाट अघि बढाउनुपर्नेमा जोड दिए।
लामिछानेले कुनै पनि अन्तर्राष्ट्रिय संवेदनशील विषयको समाधानका लागि कूटनीतिक पहल नै सबैभन्दा प्रभावकारी बाटो हुने बताए।
‘कुनै पनि विषय कूटनीतिको माध्यमबाट गरिनु सबैभन्दा महत्त्वपूर्ण हुन्छ। त्यो हल्ला गरेर, ढोल बजाएर हुँदैन,’ उनले भने, ‘गर्नुपर्ने ठाउँमा गर्नुपर्ने जसरी चरणबद्ध रूपमा हुन्छ।’
उनका अनुसार सार्वजनिक बहस र औपचारिक कूटनीतिक संवादको प्रकृति फरक हुने भएकाले समाधानको प्रक्रिया पनि चरणबद्ध र संस्थागत रूपमा अघि बढाउनुपर्ने हुन्छ।