'हामीले केही खराब गर्यौँ भने खबरदारी गर्नुहोला'
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले आफू समृद्धिको ढोका खोल्न नयाँ दिल्ली आएको बताएका छन्।
बिहीबार दिल्लीमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै समृद्ध नेपालको सपना पुरा गर्ने एजेण्डा बोकेर आफू दिल्ली आएको बताएका हुन्।
सभापति लामिछानेले विभिन्न कूटनीतिक तवरले नयाँ समृद्धिको खाका कोर्ने उद्देश्य बोकेर भारत भ्रमणमा आएको बताएका छन् ।
उनले भने- 'पछिल्लो १०/१२ वर्षमा भारतले विकास र समृद्धिको फड्को मार्दा हामी छेउमै बसेर हेरी मात्र रह्यौँ। अब सँगसँगै यात्रा गर्ने र समृद्धिको बाटोमा यात्रा गर्ने एजेण्डा बोकेर आएको हुँ। नयाँ दिल्लीमा राजनीतिक ढोका खोल्न त धेरै मानिसहरू आए, म यसपटक समृद्धिको ढोका खोल्न आएको हुँ।'
लामिछानेले आफूहरु देशलाई निकास दिएरै छाड्ने भएकाले नचाँहिदो हल्लाको पछाडि नलाग्न आग्रह समेत गरेका छन् ।
उनले थप भने- 'हामीले केही खराब गर्यौँ भने खबरदारी गर्नुहोला। रास्वपा समर्थकहरू केवल समर्थन मात्र गर्दैनन्, गलत भए पनि खबरदारी पनि गर्छन्।'
उनले रास्वपा नेतृत्वको सरकार सञ्चालनको सुरुवाती दिन भएकाले केही वातावरण बिग्रेपनि पूर्ण प्रतिबद्धताका साथ देशलाई अगाडी बढाउने बताए ।
साथै उनले केही काम बिग्रिए खबरदारी गर्न र सुझाव दिन पनि आग्रह गरेका छन् ।
सोमबार भारतीय जनता पार्टी (भाजपा)को निमन्त्रणामा पाँच दिने भारत भ्रमणमा गएका सभापति लामिछाने पनि नयाँ दिल्लीमा भारतीय राजनीतिक नेतृत्वसँग महत्वपूर्ण भेटवार्ता गनुका साथै हाइड्रोपावर, विमानस्थल, सीमा लगायतका महत्वपूर्ण विषयमा छलफल गरिरहेका छन् ।