काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनाल तीन दिने औपचारिक भ्रमणका लागि भोलि भारत जाने भएका छन् ।
परराष्ट्र मन्त्रालयले बिहीबार एक प्रेस विज्ञप्ति जारी गर्दै मन्त्री खनालको भारत भ्रमणको औपचारिक कार्यतालिका सार्वजनिक गरेको हो ।
भारतीय विदेशमन्त्री डा. एस. जयशङ्करको निमन्त्रणामा परराष्ट्रमन्त्री खनाल २२ देखि २४ जेठसम्म भारत भ्रमणमा जान लागेका हुन् ।
भ्रमणका क्रममा परराष्ट्रमन्त्री खनालले नयाँ दिल्लीमा आफ्ना भारतीय समकक्षी विदेशमन्त्री डा. जयशङ्करसँग औपचारिक द्विपक्षीय भेटवार्ता गर्नेछन् । उक्त बैठकमा नेपाल र भारतबीचको पारस्परिक हितका विविध विषयमा केन्द्रित रहेर छलफल हुने परराष्ट्र मन्त्रालयले जनाएको छ ।
विशेषगरी दुई देशबीचको व्यापार, लगानी, ऊर्जा क्षेत्र र जनता–जनताबीचको सम्बन्धलाई थप सुदृढ र विस्तार गर्नेबारे विस्तृत विचार-विमर्श हुने कार्यसूची रहेको छ ।
पछिल्लो समय सीमा विवादका कारण द्विपक्षीय सम्बन्धमा देखिएको अविश्वास हटाउने विषयमा खनाल र जयशंकरबीच छलफल हुनेछ ।
यसैगरी परराष्ट्रमन्त्री खनालले वाणिज्यमन्त्री गोयलसँग पेट्रोलियम पाइपलाइन विस्तार, नेपालमा चिनी निर्यातमा भारतले लगाएको प्रतिबन्ध फुकुवा र भारतमा नेपालीलाई भुक्तानीका लागि ‘क्यूआर’ कार्यान्वयन गर्ने विषयमा छलफल गर्ने सम्भावना रहेको छ ।
भ्रमण तालिकाअनुसार परराष्ट्रमन्त्री खनाल २४ जेठमा स्वदेश फिर्ता हुने छन् ।
यसअघि परराष्ट्रमन्त्री खनालले मौरिससमा आयोजित नवौँ हिन्द महासागर सम्मेलनका क्रममा भारतीय समकक्षी जयशंकरसँग भेटवार्ता गरेका थिए।
मौरिससमा खनाल र जयशंकरबीच बदलिएको परिवेशमा नेपाल–भारत सम्बन्धलाई अगाडि बढाउने विषयमा छलफल भएको थियो । नेपालको नयाँ सरकारका प्राथमिकताहरूबारे काठमाडौंमा विस्तृत रूपमा छलफल गर्न सहमति समेत भएको थियो ।
उता भारतीय जनता पार्टी (भाजपा)को निमन्त्रणामा सोमबार भारत भ्रमणमा गएका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने पनि नयाँ दिल्लीमा भारतीय राजनीतिक नेतृत्वसँग महत्वपूर्ण भेटवार्ता गरिरहेका छन् ।
पाँच दिने भारत भ्रमणमा रहेका लामिछानेले बुधबार भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेटवार्ता गरेका थिए । मंगलबार भाजपा कार्यालयमा बाजागाजा र पुष्पवर्षासहित भव्य स्वागत गरिएको थियो । सोही क्रममा भाजपा अध्यक्ष नितिन नवीनसँग सभापति लामिछानेले दुई पक्षीय भेटवार्ता गरेका थिए ।
यसैगरी लामिछानेले भारतका विदेश मन्त्री डा. एस जयशंकर र भारतीय गृहमन्त्री अमित शाहसंग पनि भेटवार्ता गरेका छन् ।
रास्वपा सभापति लामिछाने भारत भ्रमणमै रहेका बेला परराष्ट्रमन्त्री खनालको भारत भ्रमण तय भएको हो।