काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनालको भारत भ्रमण अन्तिम समयमा स्थगित भएको छ ।
भारत सरकारको निमन्त्रणामा उनी १८ जेठमा नयाँदिल्लीमा आयोजना हुने पहिलो अन्तर्राष्ट्रिय ‘बिग क्याट एलायन्स’ (आईबीसीए) शिखर सम्मेलनमा सहभागी हुने तय भएको थियो । तर भारतले सम्मेलन नै पछि सारेपछि मन्त्री खनालको भ्रमण पनि रोकिएको हो ।
नेपाल–भारत सम्बन्ध पछिल्ला महिनामा उतारचढावपूर्ण बनेका बेला यो भ्रमणलाई निकै अर्थपूर्ण रूपमा हेरिएको थियो ।
विशेषतः नेपालमा वालेन्द्र शाह नेतृत्वको नयाँ शक्तिशाली सरकार गठनपछि बदलिएको राजनीतिक परिवेशमा द्विपक्षीय सम्बन्धलाई नयाँ ढंगले अघि बढाउने अवसरका रूपमा भ्रमणलाई विश्लेषण गरिएको थियो ।
परराष्ट्रमन्त्री खनालले गत २७ चैतमा मौरिसस मा भारतीय विदेशमन्त्री एस जयशंकर सँग भेटवार्ता गरेका थिए । त्यस भेटमा नेपाल–भारत सम्बन्ध, क्षेत्रीय सहकार्य र उच्चस्तरीय राजनीतिक संवादलाई तीव्र बनाउने विषयमा छलफल भएको थियो ।
भारत सरकारले भने सम्मेलन स्थगित गर्नुको औपचारिक कारणका रूपमा अफ्रिकाका केही क्षेत्रमा फैलिएको इबोला प्रकोपलाई खुलाएर उल्लेख गरेको छैन ।
तर कूटनीतिक वृत्तमा अफ्रिकी मुलुकहरूको सहभागितामा असर पर्न सक्ने चिन्ताका कारण कार्यक्रम सारिएको चर्चा छ ।
भारतको वातावरण, वन तथा जलवायु परिवर्तन मन्त्रालयले शुक्रबार जारी गरेको वक्तव्यअनुसार चौथो भारत–अफ्रिका फोरम शिखर सम्मेलन (आईएएफएस–४) सँगै आईबीसीए सम्मेलन आयोजना गर्ने योजना थियो ।
अफ्रिकी संघका पदाधिकारीहरूसँगको परामर्शपछि आईएएफएस–४ पछि सार्ने निर्णय गरिएकाले सबै सदस्य राष्ट्रको व्यापक सहभागिता सुनिश्चित गर्न ‘बिग क्याट’ सम्मेलन पनि स्थगित गरिएको जनाइएको छ ।