काठमाडौं । नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले जातीय भेदभाव तथा छुवाछूत उन्मूलन राष्ट्रिय दिवसलाई केवल औपचारिक उत्सवमा सीमित नगरी विभेदमुक्त समाज निर्माणको सामूहिक संकल्पका रूपमा स्थापित गर्नुपर्ने बताएका छन्।
जातीय भेदभाव तथा छुवाछूत उन्मूलन राष्ट्रिय दिवस–२०८३ का अवसरमा जारी शुभकामना सन्देशमा आङ्देम्बेले नेपालमा कानुनी तथा संवैधानिक रूपमा छुवाछूत र विभेद निषेध गरिए पनि समाजका विभिन्न तहमा यस्ता अमानवीय घटनाहरू अझै देखिनु गम्भीर चिन्ताको विषय भएको बताएका छन्।
उनले वि.सं. २०६३ साल जेठ २१ गते नेपाललाई ‘जातीय छुवाछूतमुक्त राष्ट्र’ घोषणा गरिएको तथा त्यसलाई संस्थागत गर्न वि.सं. २०६८ सालमा ‘जातीय भेदभाव तथा छुवाछूत (कसुर र सजाय) ऐन’ जारी गरिएको स्मरण गराउँदै यी कदमहरूले समानता, मानव अधिकार र सामाजिक न्यायप्रतिको राज्यको प्रतिबद्धता स्पष्ट पारेको उल्लेख गरेका छन्।
आङ्देम्बेका अनुसार नेपालको संविधानले सबै नागरिकलाई समान अधिकारको प्रत्याभूति गरेको भए पनि व्यवहारिक रूपमा जातीय विभेद र छुवाछूतका घटनाहरू पूर्ण रूपमा अन्त्य हुन सकेका छैनन्। यस्ता घटनाले मानव मर्यादा, सामाजिक सद्भाव तथा लोकतान्त्रिक मूल्य–मान्यतामाथि प्रत्यक्ष आघात पुर्याउने उनले बताएका छन्।
उनले विभेद अन्त्यका लागि कानुन र दण्ड सजाय मात्र पर्याप्त नहुने उल्लेख गर्दै समाजमा समानता, सम्मान, सहिष्णुता र मानवीय व्यवहारको संस्कृतिको विकास अपरिहार्य रहेको बताए। साथै सामाजिक न्याय, समान अवसर र समावेशी विकास सुनिश्चित गर्न राजनीतिक दल, राज्यका निकाय, नागरिक समाज, सञ्चारमाध्यम तथा आम नागरिक एकजुट हुनुपर्नेमा जोड दिए।
शुभकामना सन्देशको अन्त्यमा आङ्देम्बेले विविधताबीचको एकतालाई अझ सुदृढ बनाउँदै विभेदरहित, समावेशी र समतामूलक नेपाल निर्माणका लागि सबै पक्षले साझा जिम्मेवारी निर्वाह गर्नुपर्ने उल्लेख गरेका छन्। उनले जातीय भेदभाव तथा छुवाछूत उन्मूलन दिवसलाई केवल औपचारिक समारोहका रूपमा नभई समानता, सामाजिक न्याय र मानव मर्यादाप्रतिको राष्ट्रिय प्रतिबद्धताको अवसरका रूपमा स्थापित गर्न आग्रह गरेका छन्।