काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनालले जलवायु परिवर्तन, समुद्री सुरक्षा चुनौती, आपूर्ति शृङ्खलामा अवरोध र बढ्दो असमानताले विश्वलाई सामूहिक जिम्मेवारीतर्फ अग्रसर हुन बाध्य बनाएको बताएका छन् ।
मौरिससको पोर्ट लुइसमा शनिबारदेखि सुरु भएको नवौँ हिन्द महासागर सम्मेलनलाई सम्बोधन गर्दै परराष्ट्रमन्त्री खनालले नेपालका प्राथमिकता सुनाएका हुन्।
मन्त्री खनालले द्वन्द्वका असर क्षेत्रीय सीमाभन्दा बाहिर फैलिएका र त्यसले इन्धन मूल्य, आपूर्ति शृङ्खला र जीविकोपार्जनमा समेत प्रभाव पारेकाले हिन्द महासागरको स्थिरता विश्व शान्तिसँग जोडिएको धारणा राखे। ‘हिन्द महासागर शासनका लागि सामूहिक संरक्षकत्व’ विषयक सम्मेलनमा परराष्ट्रमन्त्री खनालले नेपालका लागि, सामूहिक संरक्षकत्वको सुरुआत एउटा सरल सत्यबाट हुने र हिमाल तथा महासागरको भविष्य एक–अर्कासँग अविच्छिन्न रूपमा जोडिएको उल्लेख गरे।
उनले नेपाल संवादको साझेदार, भूपरिवेष्ठित राष्ट्रहरूको आवाज र पहाड तथा महासागरबीचको सेतु बन्न तयार रहेको बताए। साथै नेपाल र हिन्द महासागरबीचको ऐतिहासिक सम्बन्ध उल्लेख गर्दै प्राचीनकालमा हिमालदेखि महासागरसम्मका मार्गबाट व्यापार र विचारको आदानप्रदान भएको स्मरण गरे।
हिन्दुकुश हिमालय क्षेत्र विश्वका अर्बौँ मानिसका लागि पानीको मुख्य स्रोत भएको उल्लेख गर्दै उनले जलवायु परिवर्तनका कारण हिमनदी पग्लिने दर बढ्दा हिमताल विस्फोटको जोखिम बढेको बताए । साथै हिन्द महासागरको तापक्रम वृद्धि र समुद्री सतह उक्लिँदा टापु राष्ट्रहरू जोखिममा परेको उनको भनाइ थियो ।
यसैबीच सम्मेलनलाई सम्बोधन गर्दै परराष्ट्रमन्त्री खनालले मध्यपूर्वमा भइरहेका द्वन्द्वबाट नेपालसहित सिङ्गो विश्व नै प्रभावित भएको पनि उल्लेख गरेका छन्
उक्त द्वन्द्वमा एक नेपालीको ज्यान गएको र केही घाइते भएको जानकारी दिँदै उनले त्यहाँ रहेका लाखौँ नेपालीको सुरक्षालाई सरकारको प्रमुख प्राथमिकता भएको बताए ।
‘मध्यपूर्वमा भइरहेका घटना र त्यसबाट उत्पन्न समस्या नेपालका लागि टाढाका घटनाहरू होइनन्। लाखौँ नेपाली नागरिक त्यहाँ बसोबास तथा रोजगारीमा छन्, उनीहरूको सुरक्षा हाम्रो प्रमुख प्राथमिकताको विषय हो,’ खनालले भने।
सम्मेलनमा भारतीय विदेशमन्त्री एस जयशंकरसहित सार्क राष्ट्रका विदेश मन्त्री पनि सहभागी छन्।