काठमाडौं । ‘कहीं नभएको जात्रा हाँडिगाउँमा’ भनेझैं नेपाल प्रहरीभित्र भद्रगोल देखिएको छ ।
जेठ १८ गते भएको एसएसपीहरुको सरुवालाई प्रहरी प्रधान कार्यालयले फेरबदल गर्दै काज पठाएपछि प्रहरी अधिकारीहरु नै अश्चर्यचकित भएका छन् ।
मापदण्ड विपरीत इन्चार्ज टु इन्चार्जमा सरुवा भएको भन्दै एसएसपी शान्तिराज कोइरालाको सरुवा रोकिएको हो । तर, सरुवाअघि किन मापदण्ड हेरिएन ? भन्ने प्रश्न उठेको छ ।
काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय रामशाहपथमा सरुवा भएका एसएसपी कोइरालाको ठाउँमा सुरेश काफ्लेलाई काज सरुवा गरिएको छ ।
कोइराला नेपाल प्रहरी प्रदेश कार्यालय वीरगञ्ज, पर्साको कमान्ड गरेका थिए । उक्त कमान्डबाट उनको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय रामशाहपथमा सरुवा गरिएको थियो ।
काफ्लेको काज सरुवासँगै प्रहरी प्रधान कार्यालयको मानवश्रोत विभागमाथि पनि प्रश्न उब्जिएको छ ।
सरुवा गर्ने बेलामा इन्चार्ज टु इन्चार्ज नदेख्ने प्रहरी प्रधान कार्यालयले अहिले सुधार गरेर पारदर्शिता देखाउनु नौलो कुरा नभएको अधिकारीहरु नै बताउँछन् ।
प्रहरी नियमावली अनुसार एसएसपी तथा सो भन्दा माथिका पदको सरुवाको जिम्मेवारी गृहमन्त्रालय अन्तर्गतको हुन्छ ।
तर, अहिले गृह मन्त्रालय हेर्ने छुट्टै विभागीय मन्त्री छैनन् । वैशाख ९ गते सुधन गुरुङले गृहमन्त्रीबाट राजीनामा दिएपछि यो मन्त्रालय समेत प्रधानमन्त्री बालेन्द्र शाह ‘बालेन’ आफैं राखेका छन् ।
गृहमन्त्रालयसमेत प्रधानमन्त्रीले सम्हालेको अवस्थामा निस्केको सरुवा नै विवादमा परेको हो ।
यो सरुवा प्रकरणले आईजीपी दानबहादुर कार्कीले गृहमन्त्रालयको समेत जिम्मेवारी सम्हालेका प्रधानमन्त्री बालेनलाई कस्तो रिपोटिङ गर्दा रहेछन् भन्ने प्रष्ट देखिएको छ ।