Jun 11 2026 | २०८३, जेठ २८ गते

11 Jun 2026 | बिहिवार, जेठ २८ गते २०८३

बिहिवार, जेठ २८ गते २०८३
images
images

बर्दियामा नक्कली सरकारी कार्यालय खोलेर ठगी, समातिए श्रीमान श्रीमती

बर्दियामा नक्कली सरकारी कार्यालय खोलेर ठगी, समातिए श्रीमान श्रीमती

बिहिवार , जेठ २८, २०८३

बर्दिया। बर्दियामा नक्कली सरकारी कार्यालय खोलेर ठगी गर्ने दुई जना पक्राउ परेका छन् ।  

पक्राउ पर्नेमा बर्दियाको ठाकुरबाबा नगरपालिका-३ निवासी २४ वर्षीय घनश्याम न्यौपाने र उनकी श्रीमती कृपा चौधरी छन् ।

जिल्लाको ठाकुरबाबा नगरपालिका-३ बगनाहा बजारमा नक्कली सरकारी कार्यालय सञ्चालन गरी सर्वसाधारणलाई ठगी गरेको आरोपमा श्रीमान्–श्रीमतीलाई नै पक्राउ गरिएको हो ।

प्रहरीका अनुसार न्यौपाने दम्पतीले ठाकुरबाबा नगरपालिका-३ मा रहेको एक घरमा ‘प्रगन्ना तथा बड्कापथ सिँचाइ विभाग, ठाकुरबाबा न.पा.–३, बर्दिया, टिकापुर, लम्की’ नामबाट कार्यालय सञ्चालन गरिएको थियो । 

ऊर्जा जलस्रोत तथा सिंचाइ मन्त्रालय अन्तर्गत दाङको लमहीमा ‘प्रगन्ना तथा बड्कापथ सिँचाइ व्यवस्थापन कार्यालय’ छ । त्यसको नामसँग मिल्ने र सरकारी कार्यालयको झल्को दिने गरी उनीहरुले ‘प्रगन्ना तथा बड्कापथ सिँचाइ विभाग’ नामको साइनबोर्ड, लेटरप्याड र छाप प्रयोग गर्दै आएका थिए ।

उक्त कार्यालयमार्फत विभिन्न व्यक्तिलाई सरकारी कर्मचारीमा नियुक्ति गरिदिने, काममा लगाइदिने तथा मजदुरी गराउने नाममा ठगी गरिएको आरोप छ ।

अनुसन्धानका क्रममा कार्यालय सञ्चालकले स्थानीय व्यक्तिहरूलाई कर्मचारीका रूपमा नियुक्ति दिएको, विभिन्न मजदुरी काममा लगाएको तर ज्याला भुक्तानी नगरेको खुलेको प्रहरीले जनाएको छ । 

साथै कार्यालय सञ्चालन गरिएको घरका धनीलाई घरको तल्ला थप्न लगाई निर्माण कार्य गराए पनि रकम भुक्तानी नगरेको आरोप समेत लागेको छ ।

सम्बन्धित घरधनीबाट जाहेरी दरखास्त प्राप्त भएपछि प्रहरीले अनुसन्धान अघि बढाएको थियो । अनुसन्धानका क्रममा आरोपितले आफैं सरकारी कागजात तथा छाप तयार गरी हस्ताक्षर र नियुक्तिपत्रमा प्रयोग गरेको तथ्य फेला परेको प्रहरीले जनाएको छ ।

प्रहरीले उनीहरूमाथि ठगी तथा सरकारी कागजात र छापको दुरुपयोग सम्बन्धी कसुरमा थप अनुसन्धान गरिरहेको छ ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077