काठमाडौं । नेकपा एमालेका नेता ईश्वर पोखरेलले पार्टी अहिले आत्मसमीक्षा र पुनर्गठनको बाटोमा अघि बढ्नैपर्ने अवस्थामा पुगेको बताएका छन् ।
पार्टीभित्र नेतृत्व र संगठनात्मक संरचनाबारे तीव्र बहस भइरहेका बेला पोखरेलको अभिव्यक्ति आएको हो ।
सामाजिक सञ्जालमार्फत धारणा सार्वजनिक गर्दै उनले लेखेका छन्, 'यतिबेला नेकपा एमाले आत्मसमीक्षा र पुनर्गठनको बाटोबाट मात्र अगाडि बढ्न सक्छ । जुनसुकै बहानामा यसलाई रोक्न खोज्नु अधोगति निम्त्याउनु हो ।'
पोखरेलको यो भनाइलाई एमालेभित्र नेतृत्व परिवर्तनको बहससँग जोडेर हेरिएको छ । उनी गत महाधिवेशनमा नेतृत्व परिवर्तनको एजेन्डासहित अध्यक्ष पदमा केपी शर्मा ओली विरुद्ध प्रतिस्पर्धामा उत्रिएका थिए । तर त्यसबेला उनी पराजित भएका थिए ।
यता एमाले सचिवालय बैठकमा पनि नेतृत्व हस्तान्तरण र कार्यविभाजनलाई लिएर चर्को बहस भइरहेको छ । शुक्रबार बसेको बैठकमा पाँच जना उपाध्यक्षले धारणा राखेका थिए । स्रोतका अनुसार उपाध्यक्ष रामबहादुर थापा बाहेक अन्य चार उपाध्यक्षले अध्यक्ष ओलीलाई राजीनामा दिएर नयाँ नेतृत्वका लागि मार्ग प्रशस्त गर्न आग्रह गरेका छन् ।