काठमाडौं । नेकपा एमालेका वरिष्ठ नेता ईश्वर पोखरेलले पार्टी भित्री रूपमा कमजोर भए बाह्य षड्यन्त्र हावी हुने बताएका छन् ।
बुधबार प्रेस चौतारीले काठमाडौंमा आयोजना गरेको १५ जना उम्मेदवारहरूसँगको संवाद कार्यक्रममा बोल्दै उनले बाहिरी चुनौतीको सामना गर्न संगठनलाई भित्री रूपमा मजबुत बनाउनु अपरिहार्य रहेको बताए ।
उनले भने- 'बाहिरी षड्यन्त्र चिर्नका लागि भित्रैदेखि मजबुत हुनुपर्छ । भित्री रूपमा कमजोर भइयो भने बाह्य षड्यन्त्र हावी हुन्छ । हामी त्यो पक्षमा छैनौँ । हामी आन्तरिक रूपमा सुदृढ हुन चाहन्छौँ ।'
वरिष्ठ नेता पोखरेलले आगामी निर्वाचनलाई लक्षित गर्दै पार्टीभित्र एकता, अनुशासन र समन्वय आवश्यक रहेको उल्लेख गरे ।
साथै काठमाडौंं निर्वाचन क्षेत्र नम्बर ५ का उमेदवार समेत रहेका पोखरेलले चुनावी घोषणापत्र छिटै सार्वजनिक हुने बताए ।
उनले भने- 'यसपटकको घोषणामा हामी पृथक ढंगले प्रस्तुत भएको पाउनुहुनेछ । हामी निश्चित मुद्दामा टाइम बाउन्ड वर्किङ क्यालेन्डरका साथ प्रस्तुत हुन्छौँ । हामी कुन काम कतिबेला कसरी गर्छौं भन्नेबारेमा किटान गरेर आउनेछौँ ।'