Jun 12 2026 | २०८३, जेठ २९ गते

12 Jun 2026 | शुक्रवार, जेठ २९ गते २०८३

शुक्रवार, जेठ २९ गते २०८३
images
images

इरानले भन्यो - ट्रम्पको दाबी भ्रम मात्रै हो, रेड लाइन्समा सम्झौता हुँदैन

इरानले भन्यो - ट्रम्पको दाबी भ्रम मात्रै हो, रेड लाइन्समा सम्झौता हुँदैन

शुक्रवार , जेठ २९, २०८३

एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग युद्ध अन्त्य गर्ने ‘शानदार’ शान्ति सम्झौता भइसकेको र यसै साता हस्ताक्षर हुन सक्ने दाबी गरे पनि इरानले त्यसलाई तत्काल खण्डन गरेको छ ।

तेहरानले ट्रम्पको अभिव्यक्तिलाई केवल ‘अड्कलबाजी’ भन्दै अमेरिका–इरानबीच अहिलेसम्म कुनै पनि अन्तिम सम्झौता नभएको स्पष्ट पारेको हो ।

इरानी विदेश मन्त्रालयका प्रवक्ता इस्माइल बगाइले देशको राष्ट्रिय हित र ‘रेड लाइन्स’ मा कुनै सम्झौता नहुने बताउँदै मस्यौदाका सबै बुँदामा उच्च तहबाट स्वीकृति नआएसम्म कुनै पनि सहमतिलाई अन्तिम मान्न नसकिने बताएका छन्।

यसअघि ह्वाइट हाउसस्थित ओभल कार्यालयमा पत्रकारहरूसँग कुरा गर्दै ट्रम्पले इरानसँगको आणविक विवाद समाधान तथा युद्ध अन्त्य गर्ने सहमति अन्तिम चरणमा पुगेको दाबी गरेका थिए।

उनले सम्झौतामा यसै साता युरोपमा हस्ताक्षर हुन सक्ने र त्यसपछि विश्व व्यापारका लागि अत्यन्त महत्त्वपूर्ण जलमार्ग ‘स्ट्रेट अफ होर्मुज’ खुल्ने बताएका थिए।

तर ट्रम्पको दाबी सार्वजनिक भएको केही घण्टामै इरानी पक्षले त्यसलाई अस्वीकार गर्‍यो। इरानी सरकारी समाचार संस्था ‘इर्ना’लाई उद्धृत गर्दै प्रवक्ता बगाइले भने, “इस्लामिक रिपब्लिक अफ इरानले अहिलेसम्म कुनै पनि सम्झौतालाई अन्तिम रूप दिएको छैन। जबसम्म उच्च अधिकारीहरूले मस्यौदाका सबै बुँदामा पूर्ण सहमति जनाउँदैनन्, तबसम्म कुनै पनि सम्झौता फाइनल भएको मान्न सकिँदैन।”

इरानले आफ्नो सार्वभौमिकता, शान्तिपूर्ण आणविक कार्यक्रम सञ्चालनको अधिकार तथा आर्थिक प्रतिबन्ध पूर्ण रूपमा हटाइनुपर्ने मागमा कुनै सम्झौता नगर्ने स्पष्ट पारेको छ।

तेहरानले कूटनीतिक संवादका लागि ढोका खुला राखेको भए पनि दबाब र धम्कीका आधारमा कुनै सहमति स्वीकार नगर्ने अडान दोहोर्‍याएको छ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077