एजेन्सी । इरानको बुशेहर प्रान्त नजिकै अमेरिकी विमान खसालिएको भन्ने इरानी सञ्चारमाध्यमको दाबीलाई अमेरिकी सेनाले पूर्ण रूपमा अस्वीकार गरेको छ।
अमेरिकी केन्द्रीय कमान्ड (सेन्टकम) ले उक्त क्षेत्रमा कुनै पनि अमेरिकी विमान ध्वस्त नभएको स्पष्ट पार्दै इरानी दाबीलाई ‘झूटो सूचना’ भनेको छ।
इरानी सरकारी टेलिभिजन तथा अर्ध-सरकारी समाचार एजेन्सी तस्निमले बुशेहर प्रान्तको जाम काउन्टीका गभर्नर मसूद टांगेस्तानीलाई उद्धृत गर्दै शुक्रबार बिहान ‘शत्रुतापूर्ण विमान’ सफलतापूर्वक खसालिएको दाबी गरेका थिए। गभर्नर टांगेस्तानीले घटनापछि सहरको अवस्था सामान्य बनेको बताएका थिए।
तर, सेन्टकमले सामाजिक सञ्जाल एक्समार्फत प्रतिक्रिया दिँदै ‘कुनै पनि अमेरिकी विमान खसालिएको छैन’ भन्दै आफ्ना सबै हवाई सम्पत्तिहरू सुरक्षित रहेको जनाएको छ।
समाचार एजेन्सी रोयटर्सले पनि एक अमेरिकी अधिकारीलाई उद्धृत गर्दै विमान खसालिएको रिपोर्ट असत्य भएको पुष्टि गरेको छ।
यो घटनाले खाडी क्षेत्रमा अमेरिका र इरानबीच बढ्दो तनावलाई थप चर्काएको छ। पछिल्ला दिनहरूमा दुवै पक्षबाट युद्धविराम लम्ब्याउने र रणनीतिक महत्वको होर्मुज जलमार्गमा लगाइएका प्रतिबन्धहरू खुकुलो बनाउने संकेत देखिए पनि कुनै अन्तिम सहमति नभएको दुवै पक्षले जनाएका छन्।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले प्रस्तावित व्यवस्थालाई अनुमोदन नगरेको बताइएको छ भने इरानी सरकारी सञ्चारमाध्यमले पनि कुनै औपचारिक सम्झौता नभएको उल्लेख गरेका छन्।
यसैबीच, इस्लामिक रिभोलुसनरी गार्ड कोर्प्स (आईआरजीसी) ले होर्मुज जलमार्ग नजिक अमेरिकासँग सम्बन्धितसहित चारवटा जहाजलाई निशाना बनाएको दाबी गरेको केही घण्टापछि विमान खसालिएको खबर सार्वजनिक भएको हो। यसले खाडी क्षेत्रमा सुरक्षा चिन्ता थप गहिरिएको विश्लेषण गरिएको छ।
तनावकै बीच संयुक्त राज्य अमेरिकाले बिहीबार इरानको सैन्य(सम्बन्धित तेल व्यापार सञ्जालमाथि नयाँ प्रतिबन्ध घोषणा गरेको छ।
अमेरिकी ट्रेजरी डिपार्टमेन्टले इरानी कच्चा तेल तथा पेट्रोलियम उत्पादन ढुवानी गरेको आरोपमा ‘फ्लोरा’, ‘हाउन्कायो’ र ‘इल ग्याप’ सहित आठवटा जहाजलाई कालोसूचीमा राखेको जनाएको छ।