एजेन्सी । इरानले अमेरिकासँग तत्काल सम्झौता नहुने स्पष्ट पारेको छ । इरानले अमेरिकासँगको वार्तामा केही प्रगति भएको तर तत्काल सम्झौता नहुने बताएको हो ।
अमेरिकी विदेशमन्त्री मार्को रुबियोले आज सम्झौता हुन सक्ने बताएपछि इरानी विदेश मन्त्रालयका प्रवक्ता इस्माइल बकाईको यो टिप्पणी आएको हो ।
प्रवक्ता बकाईले छलफलमा रहेका धेरैजसो मुद्दाहरूमा निष्कर्षमा पुगेको तर यसको अर्थ सम्झौतामा अहिलै नै हस्ताक्षर हुन्छ भनेर दाबी गर्न नमिल्ने बताउनुभएको खबरमा उल्लेख छ ।
उनले अमेरिकी अधिकारीहरूको विरोधाभासी अडान र वार्ताका क्रममा आक्रमण गर्ने अमेरिकी इतिहासका कारण सम्झौतामा ढिलाइ भएको टिप्पणी गरे ।
अमेरिका–इरान समझदारीपत्रमा ६० दिनको युद्धविराम विस्तार, स्ट्रेट अफ हर्मुज जलमार्ग पुनः खोल्ने र इरानको आणविक कार्यक्रममा थप वार्ताको योजना समावेश छ ।
यसअघि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो वार्ता टोलीलाई इरानसँगको सम्झौतामा हतार नगर्न आग्रह गरेका थिए ।