एजेन्सी । रुसले युक्रेनका धेरैवटा सहरमा भीषण आक्रमण गरेको छ। रुसी मिसाइल तथा ड्रोन आक्रमणका कारण ९ जनाको मृत्यु हुनुका साथै दर्जनौँ घाइते भएका छन् ।
युक्रेनको राजधानीमा धेरै विस्फोटहरू भएको उल्लेख गर्दै रुसले ब्यालेस्टिक मिसाइलहरू प्रहार गरी आगो लगाएको र धेरै जिल्लामा बिजुली कटौती गरेको एएफपीले बताएको छ ।
सहरका मेयर भिटाली क्लिट्स्कोले सामूहिक आक्रमणमा चार जनाको मृत्यु भएको र दुई बालबालिका सहित कम्तीमा ५८ जना घाइते भएको बताएमा छन् । सहरमा विस्फोट भइरहेको जनाउँदै एयर डिफेन्स फोर्सले काम गरिरहेको र सुरक्षित स्थानमा बस्न क्लिट्स्कोले पहिले नै चेतावनी दिएका थिए ।
रुसले ब्यालेस्टिक मिसाइलले प्रहार गरिरहेको किएभको सिटी मिलिटरी एडमिनिस्ट्रेशनका प्रमुख तिमुर टाकाचेन्कोले पुष्टि गरेका छन्।
यसैगरी अन्य विभिन्न क्षेत्रमा मिसाइल र ड्रोन आक्रमण भएको रिपोर्ट गरिएको थियो ।
डिनिप्रो सहरमा भएको रुसी आक्रमणमा पाँच जनाको मृत्यु हुनुका साथै २५ जना घाइते भएको स्थानीय गभर्नर ओलेक्सान्डर गान्झाले बताएका छन् । मेयर इगोर तेरेखोभका अनुसार खार्किव सहरमा एक बालकसहित १० जना घाइते भएका छन् ।
यसैबीच, युक्रेनी सीमा नजिकै रुसको कुस्र्क क्षेत्रमा भएको युक्रेनी आक्रमणमा एक व्यक्तिको मृत्यु भएको क्षेत्रीय गभर्नर अलेक्जान्डर खिन्स्टेनले बताएका छन् ।
एयर अलर्टहरू मार्फत आफ्नो जीवन बचाउन आग्रह गर्दै हवाई सेवाहरू कुशलता पूर्वक काम गरिरहेको वायु सेना अन्य रक्षकहरू सधैँ जस्तै ड्युटीमा तैनाथ रहेको सूचना जारी गरिएको छ ।
सन् २०२२ मा आक्रमण सुरु गरेदेखि मस्कोले युक्रेनमा लगभग हरेक दिन आक्रमण गर्दै आएको छ ।
गत हप्ता पनि रुसले निरन्तर आक्रमण गरिने चेतावनी दिएको थियो। यो चेतावनी गत महिना युक्रेनले रुसको कब्जामा रहेको एक होस्टेलमा ड्रोन आक्रमण गरेपछि दिइएको थियो, जसमा २१ जनाको मृत्यु भएको थियो।