एजेन्सी । इरानले संयुक्त राज्य अमेरिकासँग हुने भनिएको उच्चस्तरीय शान्ति वार्ता स्थगित गरेको छ ।
इरानको सरकारी तथा अर्धसरकारी सञ्चारमाध्यमका अनुसार लेबनानमा इजरायलको बढ्दो सैन्य आक्रमणको विरोधमा इरानले वार्ता प्रक्रिया रोकेको हो ।
इरानको तस्निम समाचार एजेन्सीका अनुसार इरानी वार्ता टोलीले मध्यस्थकर्ता मार्फत हुँदै आएको संवाद र सन्देश आदान–प्रदान समेत रोक्ने निर्णय गरेको छ । यसले इरान–अमेरिका बीच चलिरहेको कूटनीतिक प्रयासलाई गम्भीर धक्का पुगेको बताइएको छ ।
इरानी संसद्का सभामुख मोहम्मद बागेर गालिबाफले लेबनानमा इजरायली आक्रमण जारी रहे कडा जवाफी कदम चाल्न सकिने चेतावनी दिएका छन् । उनका अनुसार शान्ति प्रक्रिया मात्र नभई इजरायलविरुद्ध प्रतिकार गर्ने विकल्प पनि खुला राखिएको छ ।
यदि, इरान र अमेरिकाबीच युद्ध अन्त्य गर्ने कुनै सम्झौता भयो भने त्यसमा लेबनानसहित सबै मोर्चाहरूमा आक्रमण रोक्ने उनले बताए ।
साथै इरानले इजरायलका सैन्य कारबाहीका लागि अमेरिका प्रत्यक्ष रूपमा जिम्मेवार रहेको आरोप लगाएको छ ।