काठमाडौं । नेपाली कांग्रेसको क्रियाशील सदस्यता अद्यावधिक कार्य अन्तर्गत योग्य कुल ७ लाख ८२ हजार २०९ सदस्यहरूमध्ये ५ लाख ३८ हजार ६२२ जनाले सदस्यता प्राप्त गरेका छन् ।
कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलालका अनुसार एक लाख ४९ हजार ३०९ सदस्यहरूले स्वयं अद्यावधिक फारम पेस गरी वडा सभापतिमार्फत प्रक्रिया अघि बढाइरहेका छन् । बाँकी सदस्यहरूको अद्यावधिक कार्य क्रमशः सम्पन्न हुँदै गएको उनले जानकारी दिए ।
पार्टीले इन्टरनेट पहुँच कमजोर रहेका उच्च हिमाली क्षेत्र, विकट पहाडी जिल्ला, बारा, खोटाङ तथा विदेशस्थित नेपाली जनसम्पर्क समितिहरूमा समेत सदस्यता अद्यावधिक कार्यलाई व्यवस्थित रूपमा अघि बढाइएको जनाएको छ।
कांग्रेसले संगठनलाई अझ सुदृढ, व्यवस्थित र प्रविधिमैत्री बनाउने उद्देश्यसहित सञ्चालन गरिएको यो अभियानमा देशभरका अधिकांश क्रियाशील सदस्यहरूको उत्साहजनक सहभागिता रहेको दाबी गरेको छ।
यसैबीच, नयाँ क्रियाशील सदस्यता वितरण कार्य अर्को सूचना जारी नभएसम्मका लागि खुला रहने पार्टीले जनाएको छ। जेठ २१ गते पहिलो पटक थपिएको म्याद सकिएपछि जेठ २८ गते राति १२ बजेसम्म समय थप गरिएको थियो।