काठमाडौं । उपसभामुख रूवी कुमारी ठाकुरले आफ्नो बोली र लवजमा मातृभाषा मैथिलीको मिठास झल्किनु स्वाभाविक भएको बताएकी छन् ।
बिहीबार संसद्को बैठक सञ्चालन गर्दै पहिलो सम्बोधन गरेकी ठाकुरको लवजलाई लिएर सामाजिक सञ्जालमा विभिन्न प्रतिक्रिया आएपछि उनले आफ्नो धारणा सार्वजनिक गरेकी हुन्।
उपसभामुखमा निर्वाचित भएपछि बिहीबार पहिलो पटक संघीय संसद्लाई सम्बोधन गरेकी ठाकुरले सामाजिक सञ्जालमार्फत आफ्नो पहिचान, भाषा र संस्कृतिप्रति गर्व व्यक्त गरिन् ।
उनले मैथिली आफ्नो मातृभाषा र मधेस आफ्नो जन्मभूमि भएको उल्लेख गर्दै शुद्ध नेपाली बोल्न निरन्तर प्रयासरत रहेको स्पष्ट पारेकी छन्।
उनले सामाजिक सञ्जालमा लेखेकी छन्, “मेरो बोली, लवज र अभिव्यक्तिमा मैथिलीको मिठास झल्किनु स्वाभाविक हो।”
उपसभामुख ठाकुरले मातृभाषालाई केवल संवादको माध्यम मात्र नभई पहिचान, संस्कृति, सभ्यता र इतिहाससँग जोडिएको अमूल्य सम्पदा भएको बताएकी छन्।