काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) का राजनीतिक सल्लाहकार असिम शाहको संयोजकत्वमा गठित ‘संविधान संशोधन बहस पत्र’ तयारी कार्यदलले संविधान संशोधनबारे सुझाव सङ्कलनलाई तीव्रता दिएको छ ।
यसैक्रममा कार्यदलले बिहीबार पूर्वप्रधानमन्त्रीहरू पुष्पकमल दाहाल, माधवकुमार नेपाल र झलनाथ खनालसँग छलफल गरेको छ ।
सुझाव सङ्कलनका लागि संयोजक शाहसहितको टोली ललितपुरको मानभवनस्थित दाहाल निवास पुगेको थियो । सोही अवसरमा तीन पूर्वप्रधानमन्त्रीको संयुक्त उपस्थितिमा संविधानको कार्यान्वयन, सुधारका सम्भावित क्षेत्र, संघीय संरचना, शासन प्रणाली तथा आवश्यक संशोधनका विषयमा विचार आदानप्रदान भएको बताइएको छ ।
कार्यदलले संविधान संशोधन सम्बन्धी बहसलाई व्यापक बनाउने उद्देश्यसहित विभिन्न राजनीतिक नेतृत्व, विज्ञ र सरोकारवालासँग निरन्तर परामर्श गरिरहेको छ। पूर्वप्रधानमन्त्रीहरूसँगको यो छलफललाई संविधान संशोधनसम्बन्धी राष्ट्रिय बहसको महत्वपूर्ण चरणका रूपमा हेरिएको छ।