काठमाडौं । नेपाली कांग्रेसले पूर्व उर्जामन्त्री दिपक खड्कासहित तीन जनालाई स्पष्टीकरण सोधेको छ ।
कांग्रेसको केन्द्रीय अनुशासन समितिले खड्कासहित संखुवासभाका जिल्ला सचिव कुमारबहादुर अधिकारी र समानुपातिक उम्मेदवार थलकुमार लिंखालाई गत फागुन २१ गतेको निर्वाचनमा अन्तर्घात गरेको भन्दै स्पष्टीकरण सोधेको हो ।
अनुशासन समितिले तिनै जनालाई ५ दिनभित्र स्पष्टीकरण पेश गर्न भनेको छ ।
कांग्रेसका पूर्वकेन्द्रीय सदस्य समेत रहेका खड्कामाथि चुनावका बेला अन्य पार्टीका उम्मेदवारलाई मत मागेको साथै पार्टीकै उम्मेदवारलाई हराउन लगाएको आरोप छ ।
नेपाली कांग्रेसको कार्यालय सचिव दिनेश थापामगरका अनुसार खड्काले फागुन ११ गते घरदैलो कार्यक्रममा ‘विशेष महाधिवेशनबाट आएको नेतृत्वलाई स्वीकार गर्दिन्’ भन्ने लगायतका अभिव्यक्ति दिएका थिए ।
उक्त अभिव्यक्तिपछि खड्कामाथि उजुरी समेत परेको थियो ।
यसैगरी आफ्नो नजिकका साथीहरुलाई कार्यक्रममा उपस्थित नहुन फोन गरेको, बाहिरी देखावटी रुपमा मत मागे पनि आन्तरिक रुपमा सूर्य घण्टी र माटोमा भोट हाल्न लगाएको पनि आरोप छ ।
यसैगरी अधिकारी र लिंखामाथि पनि दीपक खड्काको निर्देशन मान्नू भनेको र आधिकारिक उम्मेदवारलाई नसघाएको आरोप छ । ‘तेरो भोट चाहिँदैन’ भन्दै इमानदार कार्यकर्तालाई धम्क्याएको पनि लिंखामाथि आरोप छ ।
उनीसहितका व्यक्तिलाई गत जेठ २० गते स्पष्टीकरण सोधी ५ दिनभित्र लिखित स्पष्टीकरण पेस गर्न पत्राचार गरिएको छ ।
साथै स्पष्टीकरण पत्रमा समयभित्र चित्तबुझ्दो जवाफ नआए विधानअनुसार कारबाही हुने चेतावनी समेत दिइएको छ।