काठमाडौं । नेपालमा अधिकांश मनि ट्रान्सफर कम्पनी हुन्डी कारोबारमा संलग्न देखिएका छन् । प्रहरीले हाल एकैपटक आधा दर्जन रेमिटेन्स भित्राउने कम्पनीमाथि छानबिन थालेको छ।
यसअघि केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी) ले प्रभु मनि ट्रान्सफर,सजिलो पे र पेवेल नेपालमाथि हुन्डी कारोबारको आरोपमा मुद्दा चलाइसकेको छ ।
प्रभु मनि ट्रान्सफरमाथि छानबिन गर्दा अन्य कम्पनीहरुले पनि हुन्डी कारोबार गर्दै आएको खुलेपछि सिआइबीले त्यसउपर अनुसन्धान थालेको हो ।
प्रभु रेमिटेन्समाथि छानबिन गर्ने क्रममा अन्य कम्पनीहरुको पनि पोल खुलेको हो । सो कम्पनीका लागि हुन्डीको काम गर्ने बाराका रामबाबु प्रसाद जयसवाललाई सिआइबीले पक्राउ गरी अनुसन्धान गर्दा उनले हुन्डी कारोबार गर्ने अन्य मनि ट्रान्सफर कम्पनीको पनि विवरण खुलाएका छन् ।
उनले आइएमई, इसेवा मनि ट्रान्सफर, सिटी एक्सप्रेस मनि ट्रान्सफर लगायत कम्पनीको खातामा पनि आफुले हुन्डीको कारोबार गरेको खुलाएका थिए। सोही आधारमा सिआइबीले छानबिन थालेको छ ।
जयसवालले इसेवा, आइएमई, सिटी एक्सप्रेसहित जीएमई रेमिट प्रालि, पेवेल नेपाल प्रालि, आइपे रेमिट प्रालि, प्रभु म्यानेजमेन्ट, सजिलोपे पेमेन्ट सर्भिसेज प्रालि, जल्थल मनी ट्रान्सफर, रामप्रित मेमोरियल मनी ट्रान्सफर र एटी मनी ट्रान्सफरसँग पनि हुन्डीको कारोबार गरेका थिए ।
एन्ट्री भाइरस सप्लायर्स, अभियान्सु किराना पसल, बाबा डिबार इन्टरप्राइजेज, दुर्लभ ट्रेडर्स, मनीषा कुमारी साह, नेहा कुमारी साह, सुरज गन्गाई, मा छिन्नमस्ता इन्टरप्राइजेज, रिया ट्रेडर्स, आकाश इन्टरप्राइजेज, सद्गुरु ट्रेडर्स, ॐ ट्रेडर्स, सिटी मार्केट सर्भिसेज एन्ड क्रेडिट कोअपरेटिभ लिमिटेड र गुल्सल गोला स्टोर्सलगायतका फर्म तथा व्यक्तिहरूको खातामा हुन्डीको रकम जम्मा गर्ने गरेका थिए।
बयानको क्रममा उनले भारतीय नागरिक हरिश जयसवालसँग मिलेर भारतबाट आउने हुन्डीको रकम यसरी विभिन्न कम्पनीमा जम्मा गरेका थिए ।
यसरी विदेशमा हुने रकम विदेशमै रहने र नेपालमा अवैध कारोबारको रकम मनि ट्रान्सफर कम्पनीहरुले रेमिटेन्सको रकम भनेर वितरण गर्दै आएको सिआइबीको अनुसन्धानमा खुलेको छ ।
भारतमा नोष्ट्रो एकाउन्ट हुँदै हुन्डीको रकम नेपाल ल्याउने गरिएको थियो । यसरी उनले मात्र एक अर्ब २७ करोड रुपैयाँ विभिन्न कम्पनीको खातामा हुन्डीको रकम जम्मा गरेको सिआइबीको अनुसन्धानमा देखिएको छ ।
त्यसमध्ये ६ करोड १० लाख रुपैयाँ मात्र प्रभुको खातामा जम्मा भएको हो । बाँकी अन्य कम्पनीको खातामा जम्मा भएका थिए। यसरी एक अर्ब २१ करोडको हुन्डी कारोबारको अनुसन्धान हुनै बाँकी छ ।
जयसवालले एक लाख रुपैयाँ जम्मा गर्दा दुई हजार ५० रुपैयाँ कमिसन ती कम्पनीहरुबाट प्राप्त गर्दथे । यसरी हुन्डी कारोबारको कमिसनबाट बारामा उनले घरजग्गा समेत जोडेको अनुसन्धानमा खुलेको छ ।
प्रभुको हकमा सिआइबीले मुद्दा दायर गरिसकेको छ भने अन्यको हकमा दोस्रो चरणमा अनुसन्धान थालेको छ । तर, आइएमइदेखि इसेवाका सञ्चालकहरूका पहुँचका कारण सिआइबीको अनुसन्धानले गति लिन सकेको छैन ।
सजिलो पे र पेवेल नेपालमाथि भने गत वर्ष नै सिआइबीले मुद्दा दायर गरिसकेको छ ।