काठमाडौं । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी) ले स्मार्ट सेलको पाँच अर्ब घोटालासम्बन्धि अनुसन्धान अन्तिम चरणमा पुर्याएको छ ।
यही साता अनुसन्धान प्रतिवेदन बुझाउने गरी उसले अनुसन्धान गरिरहेको छ। तर, यसमा मुख्य आरोपीहरू भने अझै पक्राउ परेका छैनन् ।
सिआइबीले गत २४ बैशाखमा स्मार्ट टेलिकमका तत्कालीन सञ्चालक सर्वेश जोशीलाई पक्राउ गरी अनुसन्धान थालेको थियो ।
अनुसन्धान थालेको तीन साता हुनलाग्दा पनि एनसेलका सञ्चालक र उच्च व्यवस्थापनको सिआइबीले बयान लिन सकेको छैन ।
नेपाल इन्भेष्टमेन्ट मेगा बैंकका सिइओ ज्योती प्रकाश पाण्डे पक्राउ परेपनि उनी छुटिसकेका छन। बैंकका अन्य कर्मचारीलाई समेत सिआइबीले पक्राउ गरेको छैन । पाण्डेलाई हाजिरी जमानीमा राखेर सिआइबीले बयान लिइरहेको छ।
राज्यको अर्बौं राजश्व छल्दै आएको एनसेलको बोर्ड नै अबैध, चारैतिर सेटिङ !
स्मार्ट सेलका तत्कालीन सञ्चालक, नेपाल इन्भेष्टमेन्ट मेगा बैंक र एनसेलको मिलेमतोमा सरकारको स्वामित्वमा आइसकेको कम्पनीको सम्पत्ति लिलाम गरेर चार अर्ब ६० करोड हिनामिना गरिएको थियो ।
बैंकले धितोबिना नै अन्धाधुन्ध रुपमा सो कम्पनीलाई कर्जा लगानी गरेको थियो। कमजोर आर्थिक अवस्थामा रहेको कम्पनीको नक्कली लेखापरीक्षण प्रतिवेदन बनाएर बैंकले त्यसरी अरबौं रकम लगानी गरेको थियो।
तर, सो रकम समयमा असुलीमा ध्यान दिइएन । सरकारको स्वामित्वमा आइसकेपछि सो कम्पनीका बिटिएस टावर लगायत उपकरण एनसेललाई बेच्ने योजना बनेको थियो। तर, त्यसमा नियमन निकाय नेपाल दुरसञ्चार प्राधिकरणले साथ दिएन ।
प्राधिकरणले सरकारी सम्पत्ति लिलामबाट रोक्न पत्राचार गर्दागर्दै बैंकका सिइओ पाण्डेले एनसेलका संचालक सतिशलाल आचार्यसँगको मिलेमतोमा जबरजस्ती लिलाम गरेका थिए। जुन लिलाम सेटिङ थियो भन्ने प्रष्ट भइसकेको छ।
यसमा पाण्डेले कमिसनबापतको करिब ५० करोड रकम दुबई पुर्याएर सेटल गरेको कुरा अनुसन्धानका क्रममा खुल्न लागेको स्रोत बताउँछ। ठुलो रकम हुण्डीमार्फत दुबई पुर्याइएको बारेमा सम्पत्ति सुद्दिकरण अनुसन्धान बिभागका कर्मचारीलाई पनि संलग्न गराएर सिआइबीले गम्भीर रुपमा अनुसन्धान थालेको बताइएको छ।
यो प्रकरणमा पाण्डेका अलावा सेटिङमा मुछिएका सतिशलालका भाई सचिनलाल आचार्य, डिल्लीराम श्रेष्ठलगायतका एनसेलका उच्च अधिकारीमाथि पनि बयान लिने तयारी भैरहेको छ।
एनसेलकै सञ्चालकहरुको आफन्तहरूको नाममा नक्कली बोलपत्र हाल्न लगाएर एनसेलले ठेक्का हत्याएको थियो। यसमा बैंकका सिइओ पाण्डेलगायत कर्मचारीमाथि भ्रष्टाचार मुद्दा समेत आकर्षित हुने प्राधिकरणका कर्मचारी बताउँछन्।
यस प्रकरणमा सिआइबीले एनसेलमा पनि छापा हानेर कागजात नियन्त्रणमा लिइसकेको छ। तर, पासपोर्ट रोक्का नहुँदा सो कम्पनीका मुख्य सञ्चालक र व्यवस्थापकहरू विदेश भागिसकेका छन्।
इन्भेष्टमेन्ट मेगा बैंकका एक दर्जन कर्मचारीको यसमा संलग्नता देखिएको थियो। उनीहरु पनि भूमिगत भएका छन्। पाण्डेले आफु सिन्धुली भाग्नु अघि नै लिलामीको फाइलमा हस्ताक्षर गर्ने कर्मचारीहरुलाई भगाएको बैंकका एक उच्च अधिकारीले दावी गरे।
यद्यपी फरार बनाएरै मुद्दा चलाउने सिआइबीको तयारी रहेको बुझिएको छ । कर्मचारीलाई भगाएको र स्मार्ट सेल लिलामी हिनामिना प्रकरणका बारेमा प्रतिक्रियाका लागि सिइओ पाण्डेसँग अनलाइन नेपाल प्रतिनिधिले पटक पटक प्रयास गर्दा पनि उनी सम्पर्कमा आउन चाहेनन् ।
तर, मुद्दा रोक्न एनसेल र इन्भेष्टमेन्ट बैंकका तर्फबाट विचौलियाहरू अझै सक्रिय भएर लागेका छन्। सिआइबीको अनुसन्धान पनि पछिल्लो समय सुस्ताएको छ।
प्रधानमन्त्रीको सचिवालयले समेत यो अनुसन्धानमा चासो दिइरहेको छ। प्रधानमन्त्री कार्यालयबाट आएको पत्रकै आधारमा सिआइबीले स्मार्ट सेल घोटालाको छानबिन थालेको थियो ।
आरोपीहरु पक्राउ गर्न नसक्दा अनुसन्धान फितलो हुने जोखिम बढेको छ।