काठमाडौं । स्मार्ट टेलिकमको लिलाम प्रकरणमा मुख्य योजनाकार एनसेल आजियताका सञ्चालक भएको खुलेपनि अहिलेसम्म सो कम्पनीका कोही पनि पक्राउ परेका छैनन् । प्रहरीले लिलाम गर्ने बैंकका सिइओलाई समेत पक्राउ गर्दा पनि एनसेलमाथिको अनुसन्धान लम्बिएपछि शंका बढेको छ ।
स्मार्ट टेलिकम र एनसेलका सञ्चालक एकै व्यक्ति हुन् । पछिल्लो समय सिंगापुर बस्दै आएका सतिशलाल आचार्यले यी दुई कम्पनी चलाउँदै आएका छन् । उनले आफन्त सर्वेश जोशीको नाममा स्मार्ट टेलिकमको शेयर हस्तान्तरण गरेका थिए।
जसकारण उनकै योजनामा सरकारको नाममा गइसकेको स्मार्ट टेलिकमको सम्पत्ति मिलेमतोमा हत्याइएको थियो।
यही विषयमा प्रधानमन्त्री कार्यालयमा उजुरी परेपछि प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी) ले छानबिन थालेको थियो। सर्वेश जोशीलाई पक्राउ गरेर अनुसन्धान सुरु भएको १७ दिन भइसकेको छ तर अहिलेसम्म एनसेलका कोही पनि पक्राउ परेका छैनन् ।
एनसेलको कार्यालयमा सिआइबीले छापा हानेर कागजपत्र नियन्त्रणमा लिएको समेत एक हप्ता भइसकेको छ । एनसेलका अधिकारीले अनुसन्धानलाई प्रभावित पारेका कारण पक्राउ लम्बिएको चर्चा चलेको छ ।
सिआइबीले पक्राउको तयारी गरेपछि एनसेल आजियताका सिइओ माइकर फोलेसहित चिफ फाइनान्स अफिसर इनामुल कबिर, चिफ बिजनेश अफिसर साल्भाडार एन्टोनियो, चिफ बिजनेश कन्जुमर अफिसर उपंग दत्त, चिफ ह्युमन रिसोर्स अफिसर अफ्रिन हुँदा लगायत विदेश फरार भएका छन् ।
सिआइबीले यस प्रकरणमा इन्भेष्टमेन्ट मेगा बैंककै सिइओ ज्योती प्रकाश पाण्डेलाई भने पक्राउ गरिसकेको थियो। उनी अदालतको आदेशमा छुटिसकेका छन्। त्यस्तै, लिलाम प्रक्रियामा सहभागी भएकी पलिना श्रेष्ठ पनि छुटिसकेको सिआइबी स्रोत बताउँछ ।
पलिनाका श्रीमान तथा डब्लुडिएनका संचालक अरुण श्रेष्ठलाई पनि सिआइबीले खोजी गरेको छ। श्रेष्ठ र सतिशलालका भाइ सचिनलालले सरकारी निकायहरुमा सेटिङ गरेको खुलेको छ। सतिशलालले श्रेष्ठलगायतको नाममा कम्पनी खोलेर अबैध कारोबार गर्दै आएको समेत भेटिएको छ।
यस मुद्दामा सर्वेश जोशी र नरेन्द्र उलाकमात्र थुनामा छन्। पक्राउ पूर्जी भएका केही व्यक्ति पक्राउ परेका छैनन् भने एनसेल लिलाम रद्द गरेर भएपनि मुद्दाबाट जोगिने प्रयासमा चलखेलमा लागेको छ ।
गत बैशाख २९ गते इन्भेष्टमेन्ट बैंकलाई पत्र लेख्दै लिलामका उपकरणको स्वामित्व हस्तान्तरण नगर्ने हो भने आफुहरुले लिलामवापत बुझाएको चार अर्ब ६० करोड फिर्ता गर्न भन्दै पत्राचार गरेको थियो।
अनुसन्धानलाई प्रभावित पार्नेका लागि लागि मात्र सतिशलाल र सचिनलालको योजनामा कम्पनीले त्यसरी पत्राचार गरेको हो ।
यो मुद्दामा अनुसन्धानका लागि सिआइबीलाई एक साताको मात्र समय छ। लिलाम प्रकरणको मुख्य कम्पनीका सञ्चालक नै पक्राउ नपर्दा अनुसन्धान अधुरो हुने जोखिम बढेको छ ।
सिआइबी नेतृत्व पनि एनसेलप्रति नरम बन्दै गएको आशंका गरिएको छ । जसकारण राज्यको पाँच अर्ब बराबरको सम्पत्ति हिनामिनाको यस प्रकरण कतै ढिसमिस हुने त होइन भन्ने प्रश्न उठेको छ।
बिभागको छुट्टै अनुसन्धान
प्रबिधि विस्तारको नाममा राष्ट्र बैंकबाट स्वीकृति नलिइ पाँच अर्ब बढी रकम हुण्डी गरेर सिंगापुर र दुबई पुर्याएको प्रकरणमा सचिनलालमाथि सम्पत्ति सुद्दिकरण अनुसन्धान बिभागले छुट्टै छानविन गरिरहेको पनि विभागका एक उच्च अधिकारीले अनलाइन नेपालसँग बताए ।
सचिनलालले एनसेलको ठुलो रकम हिनामिना गरी काठमाडौँका बागबजार, ज्ञानेश्वरलागायतका स्थानमा खरिद गरेको जग्गाको स्रोतको समेत बिभागले खोजी गरेको ती अधिकारीले बताए ।
उनले भने,'सिआइबीको छानविन आफ्नै तरिकाले चलेको होला, तर बिभागले आचार्य दाजुभाईले स्रोत नखुलेको थुप्रै सम्पत्ति लुकाएको भेटिएको हुँदा उनीहरु कानुनी कारवाहीबाट उम्कन सक्दैनन्।'
त्यस्तै बिभाग स्रोतका अनुसार स्मार्ट टेलिकमको मुख्य सेयर होल्डर रहेको सिंगापुरको कम्पनी लालसाहु डिस्टिब्युटर्सले करिब २ अर्ब रकम ऋण स्मार्ट टेलिकमको व्यवसाय बिस्तार गर्न नभई अर्कै प्रयोजनका लागि खर्च गरेको पाइएको छ ।
लालसाहुको स्वामित्व भने एनसेलको ८० प्रतिशत सेयर होल्ड गर्ने सतिशलाल आचार्य र उनकी श्रीमती भावना सिंह श्रेष्ठको नाममा छ । सिंगापुरका नागरिक रहेका सतिशलाल आचार्य उही एनसेल आजियाटाको ८० प्रतिशत होल्ड गर्ने स्पेक्ट्रालाइट युके प्रालिका मालिक समेत हुन् ।
सिंगापुरको पीआर होल्डर भावना सिंह श्रेष्ठले खरिद गरेको शाह परिवारको स्वामित्वमा रहेको १ अर्ब २० करोडको बागबजारको अर्को जग्गा पनि छानविनमा छ ।
श्रेष्ठ एनसेलको स्थानीय साझेदार कम्पनी सुनिभेरा क्यापिटल भेञ्चरस् प्रालिकी एकमात्र लगानीकर्ता समेत हुन्।