काठमाडौं । एनसेल आजियटाले स्मार्ट टेलिकमको लिलाम प्रक्रियाबाट पछि हट्ने तयारी गरेको छ ।
कम्पनीका सञ्चालक तथा सिइओ पक्राउ पर्ने भएपछि कम्पनीले लिलामवापतको चार अर्ब ६० करोड रुपैयाँ फिर्ता गरिदिन भन्दै २९ बैशाखमा नेपाल इन्भेष्टमेन्ट मेगा बैंकलाई पत्राचार गरेको छ।
लिलाम प्रक्रियामा कानुनी प्रश्न उठेको भन्दै कम्पनीले लिलामवपातको पैसा कम्पनीकै खातामा सार्न भनेको हो। सिइओ माइकल फोलेले लेखेको पत्रमा लिलाम गरेका उपकरण स्वामित्व हस्तान्तरण गर्न नसकेको अवस्थामा पैसा आफ्नै खातामा फिर्ता गर्न भनेको हो।
यसअघि नेपाल दुरसञ्चार प्राधिकरणले सरकारको स्वामित्वमा आइसकेको सम्पत्तिको लिलाम नगर्न पटक पटक पत्राचार गर्दा पनि बैंक र एनसेलले अटेरी गरेका थिए।
मिलेमतोका आधारमा स्मार्ट टेलिकमको उपकरण लिलाम गरेर एनसेलले हत्याएको थियो । स्मार्ट टेलिकमकै पूर्वसञ्चालक सर्वेश जोशीलाई कम्पनीको सम्पत्ति लिलाम गरेर कर्जा असुल्न निवेदन हाल्न लगाई यस्तो प्रक्रिया अघि बढाइएको थियो ।
कम्पनी नै सरकारको नाममा आइसकेपछि जोशीको निवेदनलाई आधार बनाउनुमा नै बैंकको नियत खराब रहेको प्रष्ट देखिन्छ।
यसमा अब केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी) ले एनसेलमाथि छानबिन थालेको छ । एनसेलका मुख्य लगानीकर्ता सतिशलाल आचार्य र उनका भाई सचिनलालको यसमा सेटिङ रहेको सिआइबीको अनुसन्धानका क्रममा खुलेको छ ।
सिआइबीले बैंकका सिईओ ज्योतीप्रकाश पाण्डेसहित चार जनालाई पक्राउ गरेपछि आचार्य दाजुभाईको गलत मनसाय प्रस्ट देखिएको छ। एनसेलका सिइओलाई पनि पक्राउ गर्ने तयारी छ।
स्मार्ट टेलिकमको घोटालामा एनसेलसहित वहालवाला र पूर्वगभर्नरको पनि मिलेमतो !
स्रोतका अनुसार मुद्दाबाट जोगिन सो लिलाम नै तत्कालका लागि रद्द गर्न लागिएको छ। यसले सरकारको करिब पाँच अर्ब जोगिने सम्भावना देखिएको छ।
तर, लिलाम रद्द गर्दैमा यसमा संलग्नहरूलाई उन्मुक्ति दिलाउने प्रयास समेत भइरहेको आशंका गरिएको छ।