काठमाडौं । सरकारी निकायको नक्कली लेटरहेड, छाप र हस्ताक्षर प्रयोग गरी प्रतिबन्धित छोकडा (खजुर) आयात गर्न खोज्ने एक व्यवसायी पक्राउ परेका छन् ।
नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले सिमभिन इन्टरनेसनल इम्पेक्स, कालिकास्थानका सञ्चालक ५५ वर्षीय नविन कुमार अग्रवाललाई पक्राउ गरेको हो । उनलाई वीरगञ्ज महानगरपालिका–११ आदर्शनगरबाट बिहीबार नियन्त्रणमा लिइएको सिआइबीले जनाएको छ ।
सिआइबीका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक शिवबहादुर श्रेष्ठका अनुसार वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागको नक्कली लेटरहेड र छाप प्रयोग गरी अग्रवालले प्रतिबन्धित छोकडा आयात गर्न खोजेका थिए । उनले विभागका पूर्वमहानिर्देशकको नाम र हस्ताक्षर समेत किर्ते गर्दै १०० टन छोकडा आयातका लागि नक्कली अनुमति पत्र तयार पारेको आरोप छ ।
उक्त किर्ते कागजात वीरगञ्ज भन्सार कार्यालयमा पेश गरी प्रतिबन्धित सामान भित्र्याउन खोजिएको थियो। तर भन्सार अधिकारीलाई कागजातमाथि शंका लागेपछि विभागसँग पुष्टि गर्दा पत्र नक्कली रहेको खुलेको हो । त्यसपछि भन्सारले सामान जफत गर्दै थप अनुसन्धानका लागि सीआईबीलाई जानकारी गराएको थियो ।
उनलाई जिल्ला अदालत काठमाडौंबाट पक्राउ अनुमति लिएर नियन्त्रणमा लिइएको हो । प्रवक्ता श्रेष्ठका अनुसार अग्रवालमाथि मुलुकी अपराध संहिता २०७४को लिखत सम्बन्धी कसुर अन्तर्गत अनुसन्धान भइरहेको छ ।