काठमाडौं । नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले नेकपा एमालेको आसन्न महाधिवेशनमा अध्यक्ष पदमा उम्मेदवारी दिने घोषणा गरेका छन् तर उनले ‘प्यानल’ बारे छलफलमै रहेको बताएका छन् ।
आज सम्पादकहरूसँगको अन्तरक्रिया कार्यक्रममा उनले आफूले कुनै झोंकमा पार्टी अध्यक्षमा उम्मेदवारी घोषणा नगरेको पनि बताए ।
पछिल्लो समय पार्टी नेतृत्वको कार्यसम्पादन गर्ने शैली त्रृटीपूर्ण हुँदै गइरहेको औँल्याउँदै उनले राष्ट्रिय महाधिवेशन विचार र नेतृत्वबारे फैसला गर्ने थलोको रूपमा लिनुपर्ने धारणा राखे ।
उनले भने–‘महाधिवेशनमा प्यानल बनाउने नबनाउने भन्ने कुरा कुरा होइन, उम्मेदवारी दिने कुनै झोँकमा गरेको पनि होइन। हामीले पार्टीको बैठकमा औपचारिक रूपमा जानकारी गराएका हो। हाम्रो कुनै अस्वाभाविक ढङ्गले प्रस्तुत भएको होइन, अवधारणाबारे अध्यक्षसँग औपचारिक कुरा गरेर पार्टी केन्द्रीय कार्यालयमा दर्ता गराएको हो।’
उनले पार्टीमा सामूहिक नेतृत्व प्रणालीलाई थप सुदृढ गर्न आवश्यक रहेको बताए। उनले भने–‘पार्टी विधि र पद्धतिबाट चल्नुपर्छ, सामूहिक नेतृत्वबाट अगाडि बढेन भने पार्टी चल्दैन। यो खतराबाट पार्टीलाई बचाउनुपर्छ भनेर लागेका हौँ। सामूहिक नेतृत्व प्रणाली कमजोर बन्यो भने पार्टी रहँदैन।’
पोखरेलले पार्टी र आन्दोलनको हितलाई केन्द्रमा राखेर आफूहरू अघि बढ्ने बताए ।
उनले भने–‘प्रतिस्पर्धामा गरिन्छ भने त्यसको परिणामलाई स्वीकारिन्छ । जित्दा मात्रै खुसी होइन, जित्न नसक्दा पनि त्यसलाई स्वीकार सक्नुपर्छ । भीम रावल र माधव नेपालजीको जस्तो दृष्टान्त हाम्रो हकमा लागू हुँदैन । हामी प्रतिस्पर्धा गर्छौं, यदि हामी विजयी नभए पनि एमालेको पक्षमा, एमाले भएर रहिरहन्छौ ।’