Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

सम्पत्ति छानबिन आयोगलाई सहयोग गर्छौं, सम्पत्ति विवरण बुझाउँछौं : गगन थापा

सम्पत्ति छानबिन आयोगलाई सहयोग गर्छौं, सम्पत्ति विवरण बुझाउँछौं : गगन थापा

बिहिवार , जेठ २१, २०८३

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापा ले सरकारले गठन गरेको सम्पत्ति छानबिन आयोगलाई पूर्ण सहयोग गर्ने प्रतिबद्धता जनाउँदै आफूले आफ्नो सम्पत्ति विवरण बुझाउने बताएका छन्।

बिहीबार सानेपास्थित नेपाली कांग्रेस केन्द्रीय कार्यालयमा आयोजित कार्यक्रममा बोल्दै सभापति थापाले कांग्रेसका नेता तथा पदाधिकारीहरूले पनि सम्पत्ति विवरण बुझाएर आयोगको काममा सहयोग गर्ने स्पष्ट पारे।

उनले सार्वजनिक पद धारण गरेका व्यक्तिहरूको सम्पत्तिसम्बन्धी विषय छिट्टै निष्कर्षमा पुग्नुपर्ने कांग्रेसको धारणा रहेको बताए।

थापाले भ्रष्टाचार नियन्त्रण र सुशासन प्रवर्द्धनका लागि सरकारले संविधान र कानूनअनुसार अघि बढाउने सबै प्रयासमा कांग्रेसको शतप्रतिशत साथ रहने उल्लेख गरे। उनले सम्पत्ति छानबिनको प्रक्रिया पारदर्शी र विश्वसनीय हुनुपर्नेमा जोड दिँदै आयोग गठन प्रक्रिया तथा कार्यादेशको स्वच्छतामाथि भविष्यमा प्रश्न उठ्ने अवस्था आउन नदिन सरकारलाई सचेत गराए।

“नेपाली कांग्रेसका तर्फबाट म स्वयं र अन्य सबै साथीहरूले पनि आफ्नो सम्पत्ति विवरण बुझाउनेछौं। यो प्रक्रिया निष्कर्षमा पुग्नुपर्छ भन्ने हाम्रो विश्वास छ,” थापाले भने, “तर आयोग जसरी गठन गरिएको छ र जुन कार्यादेशका आधारमा अगाडि बढिरहेको छ, त्यसले भोलिका दिनमा आयोगको निष्पक्षता र स्वच्छतामाथि प्रश्न उठ्ने अवस्था सिर्जना हुनु हुँदैन।”

उनले केही न्यायाधीश तथा राजनीतिक नेताहरूले सम्पत्ति विवरण नबुझाउने अभिव्यक्ति दिएको विषयमा कांग्रेसले कुनै टिप्पणी नगर्ने पनि स्पष्ट पारे।

सरकारले देशमा बढ्दो भ्रष्टाचार र दण्डहीनता नियन्त्रण गर्ने उद्देश्यसहित गत वैशाख २ गते सर्वोच्च अदालतका पूर्वन्यायाधीश राजेन्द्रकुमार भण्डारी को अध्यक्षतामा पाँच सदस्यीय सम्पत्ति छानबिन आयोग गठन गरेको थियो।

आयोगलाई सार्वजनिक पदमा रहेका तथा पूर्वपदाधिकारीहरूको सम्पत्ति स्रोत र विवरणको अध्ययन तथा छानबिन गर्ने जिम्मेवारी दिइएको छ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077