विराटनगर । नेपाली कांग्रेसका सभापति गगन थापाले वर्तमान सरकारले न्यायपालिका र व्यवस्थापिकालाई आफ्नो प्रभाव र नियन्त्रणमा राख्ने प्रयास गरिरहेको आरोप लगाएका छन् ।
शनिबार विराटनगरस्थित कोइराला निवासमा सञ्चारकर्मीसँग कुरा गर्दै उनले सरकारले संवैधानिक निकायहरूलाई प्रभावमा राखेर सञ्चालन गर्ने प्रवृत्ति देखिएको बताएका हुन् ।
भदौ २३ गतेको अप्रिय घटनामा राज्यको कमजोरी रहेको स्वीकार गर्दै उनले त्यसबारे अनुसन्धान र कारबाही प्रक्रिया अघि बढेको बताए। तर भदौ २४ गते कोइराला निवासदेखि चाक्सीवारी, सिंहदरबारदेखि राष्ट्रपतिको भवनसम्म भएको तोडफोड, आगजनी र हिंसाबारे राज्य मौन बसेको उनको आरोप छ।
उनले भने- 'कार्यपालिकाले अहिले पनि संसदलाई आफ्नो छायामा राख्ने र न्यायपालिकालाई प्रभावमा राख्ने प्रयास गरिरहेको छ। तर यी प्रयासहरूलाई नेपालको संस्थागत संरचना र लोकतान्त्रिक शक्ति मिलेर निस्तेज पार्ने विश्वास छ।'
भदौ २४ गते पनि थुप्रै युवा र प्रहरीहरू मारिएको बताउँदै उनले त्यसको सत्य बाहिर ल्याउने प्रयास राज्यले नगरेको बताए। उनले नेपाली कांग्रेसले विशेष महाधिवेशनपछिको पहिलो बैठकदेखि नै भदौ २४ घटनाको निष्पक्ष छानबिनको माग गर्दै आएको स्मरण गराउँदै सरकारले आफ्नै प्रतिबद्धता बिर्सिएको आरोप लगाए।
उनका अनुसार सरकारले सय दिने कार्यक्रम सार्वजनिक गर्दा भदौ २४ गतेको घटनाको छानबिनका लागि छुट्टै न्यायिक आयोग गठन गर्ने प्रतिबद्धता जनाएको थियो। तर हाल यसलाई ढाकछोप गर्ने प्रयास भइरहेको बताउँदै उनले यो स्वीकार्य नभएको बताए।
उनले भदौ २४ को तत्काल न्यायिक छानबिन आयोग गठन गर्न र हिंसा, आतंक तथा उपद्रोमा संलग्न दोषीहरूलाई कानुनी कठघरामा ल्याउन सरकारसँग माग गरे।
साथै सभापति थापाले मानवअधिकार आयोगले तयार गरेको प्रतिवेदन पनि तत्काल सार्वजानिक गर्न माग गरेका छन्।