ह्याम्स अस्पतालमा उपचार हुँदै
काठमाडौं । सगरमाथा आधार शिविर क्षेत्रमा एक सातादेखि हराइरहेका पर्यटक गाइड दावा शेर्पा गम्भीर बिरामी अवस्थामा फेला परेका छन् ।
बिहीबार बिहान सगरमाथा प्रदूषण नियन्त्रण समितिका कामदाले उनलाई सगरमाथा आइसफल क्षेत्रबाट आधार शिविरतर्फ घस्रिदै आइरहेको अवस्थामा फेला पारेका हुन्।
आरोही पर्यटकहरूको सहयोगीका रूपमा गएका उनी गएको ६ दिनदेखि बेपत्ता थिए। ओखलढुंगा खिजिदेम्बा गाउँपालिका निवासी शेर्पा आधार शिविर फर्किने क्रममा एकाएक हराएका थिए।
उनको खोजीका लागि सगरमाथाको तेस्रो शिविर आसपास क्षेत्रमा हेलिकोप्टरसमेत परिचालन गरिएको थियो। तर उनी फेला परेका थिएनन्।
उनलाई खुम्बु आइसफल क्रयाम्पन पोइन्ट छेउबाट आधार शिविरतर्फ घस्रिदै आएको अवस्थामा बिहीबार बिहान फेला पारेर उद्धार गरिएको हो।
उनको खुट्टा र हात हिउँले खाएको छ। प्रारम्भिक उपचारपछि उनलाई अल्टिच्युड एयरको हेलिकोप्टरबाट काठमाडौँ ल्याइएको छ ।
खुम्बु आइसफल क्षेत्रबाट उद्धार गरिएका शेर्पालाई प्रारम्भिक उपचारपछि हेलिकोप्टरमार्फत काठमाडौंको ह्याम्स अस्पताल ल्याइएको हो। हिउँले हातखुट्टा प्रभावित भएको अवस्थामा भेटिएका उनलाई थप उपचारका लागि काठमाडौं ल्याइएको हो।
पर्वतरोहण क्षेत्रका व्यक्तिहरूले बेपत्ता भएको एकसातापछि उनी जीवितै भेटिएको घटनालाई चमत्कार नै मानेका छन् ।