काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले प्रधान न्यायाधीश सिफारिस प्रक्रियामा प्रधानमन्त्रीले उद्देश्यविपरीत निर्णय गरेको भन्दै गम्भीर आपत्ति जनाएका छन् ।
शुक्रबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले प्रधानन्यायाधीश सिफारिस गर्दा प्रधानमन्त्री बालेन्द्र शाहले संविधानको धज्जी उडाएको टिप्पणी गरेका हुन् ।
उनले भने- 'संवैधानिक परिषद्मा प्रधानमन्त्रीको दादा गरी चल्नु हुँदैन भनेर शब्दै लेखिएको छ । तर हालको निर्णय प्रक्रियाले त्यसको कम्प्लेटली धज्जी उडाइएको छ ।'
थापाका अनुसार परिषद् सम्बन्धी व्यवस्थामा प्रधानमन्त्रीको अनियन्त्रित प्रभावलाई रोक्न स्पष्ट प्रावधान राखिए पनि प्रधानमन्त्रीले त्यसको पूर्ण रूपमा उल्लंघन गरिएको छ ।
बिहीबार बसेको संबैधानिक परिषद्को बैठकमा प्रधानमन्त्री बालेन्द्र शाहले सर्वोच्च अदालतमा चौथो वरियतामा रहेका न्यायाधीश शर्माको नाम प्रस्ताव गरेका थिए । नेपालको न्यायिक इतिहासमा वरिष्ठतम् न्यायाधीशलाई पन्छाउँदै रोलक्रमको चौथो क्रममा रहेका न्यायाधीशलाई प्रधानन्यायाधीशमा सिफारिस गरिएको यो पहिलो घटना हो।
सोहि विषयलाई लिएर थापाले संवैधानिक परिषद्को संरचना र उद्देश्यविपरीत निर्णय गरिएको भन्दै आपत्ति जनाएका हुन् ।