काठमाडौं । केपी शर्मा ओलीसँग नेकपा एमालेको अध्यक्षमा चुनाव लड्न लागेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले भदौ २३ र २४ गतेको घटनाबारे छानबिन गर्न गठित जाँचबुझ आयोगसमक्ष पार्टी अध्यक्ष केपी शर्मा ओलीले बयान दिनुपर्ने बताएका छन्।
पोखरेलले एउटाको पक्ष लिएको व्यक्ति आयोग अध्यक्ष भएको अवस्थामा विश्वसनीयतामा प्रश्न भए पनि आलीले बयान भने दिनुपर्ने बताएका हुन्।
आज काठमाडौंमा आयोजित पत्रकारहरूसँगको अन्तरक्रिया कार्यक्रममा वरिष्ठ उपाध्यक्ष पोखरेलले तत्कालीन अवस्थामा सरकार प्रमुख भएका कारण ओलीले जाँचबुझ आयोग समक्ष बयान दिनुपर्ने बताएका हुन्।
कार्यक्रममा उनले भने–‘सरकारले बनाएको आयोग हो। हाम्रा कतिपय रिजर्भेसन होला तर बयान दिन जानुपर्छ। म भएको भए जान्थेँ। अझै अगाडि नै जान्थेँ होला। त्यसको अवज्ञा गर्नुले राम्रो सन्देश जाँदैन ।’
अध्यक्ष ओलीले भने आयोगसमक्ष बयान नदिने बताउँदै आएका छन्। पोखरेल तिनै व्यक्ति हुन्, जो मंसिर २७ गते भक्तपुरस्थित सल्लाघारीमा हुने ११औँ राष्ट्रिय महाधिवेशनमा केपी शर्मा ओलीसँग अध्यक्षका लागि चुनावी मैदानमा छन् ।