काठमाडौं । नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले आगामी महाधिवेशनका लागि अध्यक्ष पदमा उम्मेदवारी घोषणा गर्दै पूर्वराष्ट्रपति विद्या भण्डारीलाई पार्टीमा फर्काउने बताएका छन्।
मंगलबार पोखरेलले ११ औँ महाधिवेशनका लागि उम्मेदवारी घोषणा गर्दै भण्डारीलाई जसरी पनि पार्टीमा फर्किने वातावरण बनाएरै छाड्ने बताएका हुन्।
पोखरेलद्धारा जारी वक्तव्य भनिएको छ- 'चार दशक भन्दा लामो अवधि पार्टी निर्माणमा योगदान गर्नुभएको पार्टीका पूर्व उपाध्यक्ष विद्यादेवी भण्डारीले राष्ट्रपति जस्तो गरिमामय राजकीय जिम्मेवारी सफलतापूर्वक सम्हालिसकेपछि आफ्नो अनुभव र ऊर्जा पार्टी काममा फर्किएर खर्चिने चाहना राख्नु खुसी र गौरवको विषय हो । ‘पार्टीप्रतिको आस्था र विचार, सिद्धान्त एवं नीतिहरूप्रति प्रतिबद्ध हुँदाहुँदै उहाँलाई पार्टी सदस्य हुनबाट वञ्चित गरिदा पार्टीलाई वैचारिक रूपले थप सशक्त, साङ्गठनिक ढङ्गले अझ एकताबद्ध र सुदृढ बनाउने कुरामा असर पर्छ ।'
भण्डारीको पार्टीप्रतिको आस्था र विचार, सिद्धान्त एवं नीतिहरूप्रति प्रतिबद्ध हुँदा हुँदै पार्टी सदस्य हुनबाट वञ्चित गरिँदा पार्टीलाई वैचारिक रूपले थप सशक्त, साङ्गठनिक ढङ्गले अझ एकताबद्ध र सुदृढ बनाउने कुरामा असर गर्ने उल्लेख गरिएको छ।
'तसर्थ उहाँलाई पार्टी काममा फर्कने वातावरण निर्माण गरिनुपर्छ, गरिनेछ', वक्तव्यमा भनिएको छ ।