एजेन्सी । इरानविरुद्ध भीषण सैन्य आक्रमण गर्ने चेतावनी दिएका अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प केही घण्टामै आफ्नो निर्णयबाट पछि हटेका छन् ।
उनले इरानसँगको वार्ता निर्णायक चरणमा पुगेको जनाउँदै योजनाबद्ध हमला स्थगन गरिएको घोषणा गरेका हुन् ।
सामाजिक सञ्जाल ट्रुथ सोसलमार्फत ट्रम्पले इरानी नेतृत्वसँगको संवाद उच्चतम स्तरमा पुगेको र आवश्यक अनुमोदन प्राप्त भएको दाबी गरेका छन् ।
उनले वार्तामा सकारात्मक प्रगति भएको भन्दै बिहीबार साँझका लागि तय गरिएको सैन्य आक्रमण तथा बमबारीको योजना रद्द गरिएको बताएका हुन्।
ट्रम्पले आफ्नो सन्देशमा भनेका छन्, ‘इरानसँगको वार्ता इरानी नेतृत्वको उच्चतम स्तरमा पुगेको र अनुमोदन प्राप्त भएको कुरालाई ध्यानमा राख्दै संयुक्त राज्य अमेरिकाको राष्ट्रपतिका रूपमा मैले बिहीबार साँझ इरानविरुद्ध गर्ने भनिएको योजनाबद्ध आक्रमण र बम विस्फोट रद्द गरेको छु । वार्ता र अन्तिम बुँदा सम्बन्धित सबै पक्षले अनुमोदन गरेका छन्।’