काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह ‘बालेन’ले हिजो सार्वजनिक गरेको सम्पत्ति विवरण हेर्दा उनी धनाढ्य परिवारको एक सदस्य भएको जस्तो देखिन्छ । उनले सम्पत्ति विवरणमा घरजग्गा, सुन र नगद देखाएका छन् ।
बालेनले देखाएको सम्पत्ति विवरण अनुसार श्रीमती सबिना काफ्लेको नाममा १९० तोला गहना रहेको उल्लेख गरेका छन् । तर, उनले गहना के–के का हुन् भनेर उल्लेख गरेका छैनन् । सुनचाँदी र हिराको गहना भनिएपनि ती सबैलाई सुन मानेर हिसाब गर्ने हो भने आजको दिनमा झण्डै ६ करोड रुपैयाँ हुन आउँछ ।
उनले त्यसको स्रोत पैतृक भनेका छन् । उनले आफूसँग भएको एक करोड ४६ लाख नगद रहेको पनि उल्लेख गरेका छन् । उक्त नगदको स्रोत चाहिं सामाजिक सञ्जाल भनिएको छ । सामाजिक सञ्जालका फलोअर्सलाई पनि सम्पत्ति मानेका उनले काठमाडौं, धनुषा र महोत्तरिमा अचल सम्पत्ति रहेको उल्लेख गरेका छन् ।
उनको सम्पत्ति विवरण सार्वजनिक भएसँगै सामाजिक सञ्जालहरुमा उनको विहेको फोटो सार्वजनिक भएको छ । विहेमा समेत थोरै गहना लागएकी प्रधानमन्त्री पत्निसँग अहिले कसरी यस्तो गहना आयो भनेर सामाजिक सञ्जालमै अनगिन्ति प्रश्न उठाइएकोक छ ।
प्रेम विवाह गरेका शाह र सबिना काफ्लेको विवाहको फोटोमा झकिझकाउ गहना लगाएको देखिँदैन । सामान्यतयाः हिन्दू समुदायमा महिलाले सबैभन्दा धेरै गहना विवाहमा लगाउँछन् । तर, काफ्लेले विवाहमा कानमा सामान्य गहना मात्रै लगाएकी छन् । ठिक्क साइजको तिलहरी, हातमा सुनको दुई वटा बाला र औंठी लगाएको देखिन्छ ।
उनका श्रीमान शाहले पनि दायाँ हातको माइली र साइँली औंलामा औंठी लगाएको फोटोमा देखिन्छ । एक दशकको बीचमा उनीहरुको सम्पत्तिमा १९० तोला सुन र गहना, झण्डै २ करोड बैंक व्यालेन्स देखिएपछि चौतर्फी रुपमा स्रोत के हो भन्दै प्रश्न आइरहेका छन् ।,
नेकपा एमालेका नेता महेश बस्नेतले त गुराँस फुल्ने बेलामा मन्त्रीहरूको खेतबारीमा पँहेलपुर तोरी भन्दै देश लंका बनेको टिप्पणी गरेका छन् ।
मन्त्रीहरुसँग सुनैसुन भएको सम्पत्ति सार्वजनिक भएसँगै सामाजिक सञ्जालमा विभिन्न प्रकारका टिप्पणीहरू सुरु भएका छन् ।
धेरैजसोले प्रधानमन्त्रीसहितका मन्त्रीहरूको गरगहना (सुन, चाँदी, हार) लगायतका विषयमा प्रश्न गरिरहेका छन् । उनीहरुले सम्पत्ति शुद्धीकरणमा अनुसन्धान मन्त्रीहरुबाटै हुनुपर्ने भन्दै आवाज उठाइरहेका छन् ।
सार्वजनिक भएको विवरण अनुसार, सबैभन्दा धेरै सुन उद्योगमन्त्री गौरी कुमारीसँग रहेको देखिन्छ । उनले आफ्नो सम्पत्ति विवरणमा सुनमात्रै १८० तोला रहेको उल्लेख गरेकी छिन् ।
त्यस्तै, गृहमन्त्री सुधन गुरुङ– ८९ तोला, श्रम मन्त्री रामजी यादवको ८० तोला सुन रहेको सम्पत्ति विवरणमा खुलाएका छन् ।
अर्थमन्त्री स्वर्णिम वाग्लेको ४५ तोला, भौतिक पूर्वाधारमन्त्री सुनिल लम्सालको ३० तोला, स्वास्थ्यमन्त्री निशा मेहेताको ३० तोला, संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री प्रतिभा रावलको २५ तोला रहेको जनाएका छन् ।
त्यसैगरी शिक्षामन्त्री सस्मित पोखरेलको २५ तोला, परराष्ट्रमन्त्री शिशिर खनालको २२ तोला, महिला बालबालिकामन्त्री सीता वादीको १८ तोला सुन रहेको विवरणमा छ ।
ऊर्जामन्त्री विराजभक्त श्रेष्ठको १५ तोला, कानूनमन्त्री सोविता गौतमको १५ तोला, पर्यटनमन्त्री खडकराज पौडेलको ११ तोला, सञ्चारमन्त्री विक्रम तिमिल्सिनाको करिब ७ तोला र कृषि तथा पशुपन्छी विकासमन्त्री गीता चौधरीको ५ तोला सुन रहेको विवरणमा उल्लेख छ ।
शिक्षामन्त्री पोखरेलले ७ ठाउँमा २० करोड भन्दा बढीको घरजग्गा रहेको र ७५ लाख ऋण रहेको उल्लेख गरेका छन् । तर, सामाजिक सञ्जालमा भने एउटा मामुली सरकारी जागिरेको छोरा सस्मितको २३ करोडको सम्पत्तिमा प्रश्न नगर्नेहरूले राजनीतिमा आउनु अगाडि वैदेशिक रोजगार, कैयौँ सेयर तथा जग्गा कारोबारबाट अर्बपति भएका दीपक खड्काको पैसामा आपत्ति किन जनाउनु भन्दै प्रश्न गरेका छन् ।
त्यसैगरी एउटा सामान्य परिवारकी सबिना काफ्लेको त्यत्रो गहनालाई जायज कमाइ मान्नेहरूले राणा परिवारकी छोरी र देशकै टप आईएनजीओ चलाउँदै आएकी पूर्वपरराष्ट्रमन्त्री आराजु राणाको विगतबारे किन जान्दैनन ? भनेर प्रश्न गरेका छन् ।
त्यस्तै ‘सुधनको त्यत्रो सुनलाई सामान्य मान्नेहरूले केपी शर्मा ओली पत्नी देशको सरकारी बैंकको टप हाकिम भएको कुरा बिर्से। भन्दै अर्को कमेन्टमा गरिएको छ ।
गृहमन्त्री गुरुङले धनकुटामा आफ्नै नाममा १९ रोपनी १५ आना जग्गा, बुवा दिलबहादुरको नाममा चितवनको भरतपुरमा ३० कठ्ठा जग्गा, हजुरबुवा रामसल गुरुङको नाममा गोरखामा २२१ रोपनी जग्गा रहेको विवरण सार्वजनिक गरेका छन् ।
त्यस्तै विभिन्न बैंकमा ६१ लाख ६० हजार रुपैयाँ बचत रहेको र विभिन्न कम्पनीको गरी २ करोड ७४ लाख ५६ हजार २ सय रुपैयाँबराबरको सेयर रहेको उल्लेख छ । उनको यो विवरण सार्वजनिक भएपछि हदबन्धी भन्दा बढी जग्गा कसरी भयो ? भन्दै प्रश्न उठाइएको छ ।
सबैभन्दा रोचक त के छ भने सार्वजनिक पद धारण गरेका व्यक्तिहरूले आफ्नो सम्पत्ति विवरण पारदर्शी रूपमा बुझाउनुपर्ने कानूनी प्रावधान भए तापनि वर्तमान सरकारका केही मन्त्रीहरूसँग भने पारदर्शिताको आधार नै नभएको पाइएको छ ।
उनीहरुसँग व्यक्तिको आय र कर तिरेको विवरण लेखांकन हुने स्थायी लेखा नम्बर अर्थात् प्यान नम्बर नै नभएको पाइएको हो ।
चैत १३ गते गठित बालेन शाह नेतृत्वको मन्त्रिपरिषदका आधा दर्जन मन्त्रीहरूले सम्पत्ति विवरण बुझाउँदा प्यान नम्बर नै उल्लेख नगरेको पाइएको छ । यसका आधारमा उनीहरले अहिलेसम्म सरकारलाई आय र कर विवरण नै नबुझाएको अनुमान गर्न सकिन्छ ।
करोडौं रूपैयाँका घरजग्गा, सवारी साधन, सेयर र उल्लेख्य बैंक मौज्दात विवरणमा देखाए पनि करको दायरा पहिचान गर्ने मुख्य कडी मानिने प्यान नम्बरको महल भने उनीहरूले खाली नै छोडेका छन् ।
नेपाल सरकारको नियमानुसार स्थायी लेखा नम्बर विभिन्न आर्थिक क्रियाकलापका लागि अनिवार्य गरिएको छ । कुनै पनि सरकारी वा निजी संघ–संस्थामा काम गरी तलब थाप्ने कर्मचारी वा कामदारका लागि प्यान नम्बर अनिवार्य छ ।
तलबका लागि प्यान अनिवार्य २०७६ साउनदेखि नै गरिएको हो । प्यान बिना संस्थाले तलब भुक्तानी गर्न मिल्दैन ।
व्यक्तिगत रूपमा परामर्श सेवा दिएबापत भुक्तानी लिँदा, सरकारी वा गैरसरकारी निकायबाट ठेक्कापट्टाको काम गर्दा पनि प्यान नम्बर चाहिन्छ । कर बुझाउने संस्थामा कुनै व्यावसायिक काम गरेपछि पाइने भुक्तानीका लागि पनि प्यान नम्बर बुझाउनुपर्छ ।
कुनै पनि नयाँ व्यवसाय, फर्म वा कम्पनी दर्ता गर्न प्यान वा भ्याट नम्बर अनिवार्य चाहिन्छ । बैंक खाता खोल्न, ठूला रकमको कारोबार गर्न, बैंकबाट ऋण लिन, सवारी साधन खरिद गर्न पनि प्यान नम्बर चाहिन्छ ।
साथै तोकिएको सीमाभन्दा बढी मूल्यको घर–जग्गा खरिद वा बिक्री गर्दा प्यान नम्बर आवश्यक पर्छ भने सेयर खरिद बिक्री गर्ने टीएमएस खाता खोल्न पनि प्यान नम्बर अनिवार्य हुन्छ ।
तर, मन्त्रीहरूले प्यान नम्बर नै उल्लेख नगरेका मन्त्रीहरूको आम्दानी र सम्पत्तिको पारदर्शितामाथि नै प्रश्न गर्ने ठाउँ छ ।
प्यान नम्बर नै नभएका मन्त्रीहरूमा भौतिक पूर्वाधार तथा यातायात मन्त्री सुनिल लम्साल, स्वास्थ्य तथा जनसंख्या र खानेपानी मन्त्रालयको जिम्मेवारी सम्हालेकी मन्त्री निशा मेहता, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री प्रतिभा रावल, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री सस्मित पोखरेल, उद्योग, वाणिज्य तथा आपूर्ती मन्त्री गौरी कुमारी यादव र श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री रामजी यादव छन् । उनीहरुले प्यान नम्बर नै उल्लेख गरेका छैनन् ।
मन्त्री लम्सालले ३० तोला सुन र ५० तोला चाँदीका मालिक लम्सालको बैंक खातामा मात्रै ९० लाख रुपैयाँ मौज्दात देखिएको छ । तर, उनको सम्पत्ति विवरणमा प्यान नम्बर उल्लेख छैन ।
त्यस्तै, रावलले काठमाडौंको बुढानिलकण्ठ र बारामा महँगा जग्गा रहेकी रावलसँग २५ तोला सुन र बैंकहरूमा करिब २५ लाख रुपैयाँ नगद देखाएकी छन् । ५५ लाख रुपैयाँको एमजी कार चढ्ने मन्त्री रावलले पनि प्यान नम्बरको महल खाली नै राखेकी छिन् ।
स्वास्थ्यमन्त्री निशा मेहताले पनि आफ्नो कर पहिचान उल्लेख गरेकी छैनन् । काठमाडौंको स्वयम्भूमा जग्गा, ३० तोला सुन र हीराका गहनाहरू रहेको विवरण बुझाएकी मेहताले बैंक खाता र सेयर लगानीको लामो सूची प्रस्तुत गरेकी छिन् । २४ लाख ५० हजारको कार छ भनेर उल्लेख गरेकी मेहताले सम्पत्ति विवरणमा प्यान नम्बर भने उल्लेख गरेकी छैनन् ।
२० करोड भन्दा बढी सम्पत्ति भएको विवरण सार्वजनिक गरेका शिक्षामन्त्री पोखरेल काठमाडौंमा ४ करोडको घर र विभिन्न स्थानमा करिब १५ करोड बराबरको जग्गा जमिनको धनी हुन् । तर, उनले आफूले सम्पत्ति आर्जन गर्ने आधार अर्थात् प्यान नम्बर नै प्रस्तुत गरेका छैनन् ।
त्यसैगरी, सबैभन्दा बढी सुन रहेको विवरण पेश गरेकी उद्योग मन्त्री गौरी कुमारी यादवले काठमाडौंको महाराजगञ्जमा तीनतल्ले घर र दुई दर्जनभन्दा बढी विभिन्न ठूला कम्पनीहरूमा सेयर लगानी गरेको उल्लेख गरेकी छन् । १८० तोला सुन र २ किलो चाँदीकी धनी यादवले पनि आफ्नो प्यान नम्बर खुलाएकी छैनन् ।
श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री रामजी यादवले पनि ७० तोला सुन, १२० तोला चाँदी र मोबाइल तथा ल्यापटपको विवरण पेस गरे पनि प्यान नम्बर भने उल्लेख गरेका छैनन् । यादवले बैंक खातामा ७० लाख रुपैयाँभन्दा बढी मौज्दात देखाएका छन् ।
वर्तमान मन्त्रिपरिषद्का सदस्यहरुको सम्पत्ति विवरण हेर्दा प्रश्न उठाउने ठाउँ धेरै छन् । पुराना नेताहरुलाई मात्रै गाली गरेर देश बन्दैन भन्दै सामाजिक सञ्जालमा मन्त्रीमण्डलका नयाँ मन्त्रीहरुबाटै सम्पत्ति शुद्धीकरणमा अनुसन्धान हुनुपर्ने भन्दै आवाज उठिरहेका छन् ।