काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) को सार्वजनिक सम्पत्ति विवरणमा उनकी श्रीमती सविना काफ्लेको नाममा ठूलो परिमाणमा सुन देखिएपछि प्रश्न चिन्ह खडा भएको छ ।
आइतबार सार्वजनिक विवरणअनुसार सविना काफ्लेको नाममा १ सय ९० तोला (करिब २ किलो २० तोला) सुन रहेको उल्लेख गरिएको छ, जसको स्रोत “पुख्र्यौली सम्पत्ति” भनिएको छ ।
यस विवरणले नेपाली समाजमा दाइजो, पुख्र्यौली सम्पत्ति र सम्पत्तिको स्रोत पारदर्शितासम्बन्धी प्रश्नहरू पुनः सतहमा ल्याएको छ । विवाहित महिलाको नाममा देखाइने यस्ता सम्पत्तिलाई व्यवहारतः दाइजोको रूपमा व्याख्या गरिने प्रचलन रहेको भन्दै यसको स्रोतबारे स्पष्टता माग गर्न थालिएको छ ।
सामाजिक सञ्जालमा केहीले यदि उक्त सम्पत्ति वास्तवमै पुख्र्यौली हो भने त्यसको स्रोत परिवारबाटै पुष्टि हुनुपर्ने तर्क अघि सारेका छन् । अर्कोतर्फ, नेपालमा दाइजो लिनु कानुनविपरीत हुने भएकाले यस विषयले कानुनी बहससमेत जन्माएको छ ।
विगतमा एमाले र कांग्रेसबाट मन्त्री भएकाहरुले श्रीमतीकै दाइजो भनेर सम्पत्ति विवरण देखाउँदा चर्को बिरोध गर्ने रास्वपा समर्थकहरुले अहिले सबिना काफ्लेको सबा २ किलो सुनको बिषयलाई कसरी लेलान् ? बालेनले सार्वजनिक गरेको अन्य सम्पत्तिको विषयमा समेत प्रश्न उठ्न थालेको छ ।
यसैबीच, बालेन्द्र शाहका समर्थकहरूले भने सम्पत्ति विवरण कानुनअनुसार सार्वजनिक गरिएको र यसलाई अनावश्यक रूपमा विवादित बनाइएको दाबी गरेका छन् ।