काठमाडौं । नेपाल–भारत सीमा विवादबारे प्रधानमन्त्री बालेन्द्र शाहले प्रतिनिधिसभामा दिएको अभिव्यक्तिपछि भारतले औपचारिक प्रतिक्रिया जनाएको छ।
भारतीय विदेश मन्त्रालयका प्रवक्ता रणधीर जैसवालले मंगलबार आयोजित नियमित पत्रकार सम्मेलनमा नेपाल–भारत सीमा सम्बन्धी विषय पूर्ण रूपमा द्विपक्षीय रहेको स्पष्ट पार्दै कुनै पनि तेस्रो पक्षको संलग्नता स्वीकार्य नहुने बताएका हुन्।
प्रवक्ता जैसवालले नेपाल र भारतबीचको करिब ९८ प्रतिशत सीमा क्षेत्रको सीमाङ्कन सम्पन्न भइसकेको उल्लेख गर्दै केही स्थानमा मात्रै विवाद समाधान हुन बाँकी रहेको बताए।
उनका अनुसार नदीको बहाव परिवर्तन, विशेषगरी कालीगण्डकी प्रणालीसँग सम्बन्धित क्षेत्रमा देखिएका भौगोलिक परिवर्तनका कारण केही सीमावर्ती क्षेत्रमा जटिलता उत्पन्न भएको छ।
उनले सीमाका केही भागमा अतिक्रमण तथा दशगजा क्षेत्रमा कब्जासम्बन्धी घटनाहरू देखिएको स्वीकार गर्दै यस्ता विषयमा दुवै देशका प्राविधिक टोलीहरूले संयुक्त रूपमा नक्साङ्कन र अध्ययन गरिरहेको जानकारी दिए।
भारतले सीमा सम्बन्धी बाँकी रहेका सबै विषय समाधानका लागि नेपाल र भारतबीच विभिन्न द्विपक्षीय संयन्त्रहरू सक्रिय रहेको जनाउँदै संवाद र सहकार्यमार्फत समस्या समाधान हुने विश्वास व्यक्त गरेको छ।
प्रधानमन्त्री बालेन्द्र शाहले आइतबार प्रतिनिधिसभामा सीमा सम्बन्धी विषय उठाउँदै दिएको अभिव्यक्तिबारे सोधिएको प्रश्नमा जैसवालले भने, 'हामीले नेपालका प्रधानमन्त्रीको टिप्पणी तथा नेपाल सरकारको परराष्ट्र मन्त्रालयले जारी गरेको वक्तव्यको समीक्षा गरेका छौँ। भारत र नेपालबीचका कुनै पनि द्विपक्षीय विषयमा तेस्रो पक्षको संलग्नता छैन भन्ने कुरा सबैलाई स्पष्ट हुनुपर्छ।'