काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले विष्फोटक पदार्थसम्बन्धी कसुरमा आफ्नो पार्टीका उपाध्यक्ष पक्राउ परेको घटनाप्रति प्रतिक्रिया जनाएका छन्।
पार्टीका उपाध्यक्षसमेत रहेका कुमार भनिने राजकुमार तामाङ (लामा) लाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले काठमाडौंबाट पक्राउ गरेपछि अध्यक्ष साम्पाङले मंगलबार साँझ सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गरेका हुन्।
साम्पाङले पक्राउ प्रक्रिया प्रतिशोधपूर्ण भएको पुष्टि भए त्यसको सशक्त विरोध गरिने चेतावनी दिँदै निष्पक्ष अनुसन्धानको माग गरेका छन् । उनले दोषी ठहरिएमा पार्टीले कुनै पनि किसिमको संरक्षण नगर्ने तर निर्दोषलाई फसाउने प्रयास भए सह्य नहुने स्पष्ट पारे ।
उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘हाम्रो उपाध्यक्ष दोषी ठहर हुन्छ भने हामी बचाऊको प्रयास गर्ने छैनौँ, तर निर्दोष हुन् भने अन्याय र प्रतिशोधको विरोध हुने नै छ ! जय माटो ! जय देश !’
सिआइबीको टोलीले मंगलबार काठमाडौंको बूढानीलकण्ठ नगरपालिका–११ कपनबाट तामाङलाई पक्राउ गरेको हो । उनी साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टीका उपाध्यक्ष हुन् ।