काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले वर्तमान संविधानले देशलाई मार्गदर्शन गर्न असफल भइसकेको दाबी गर्दै आगामी फागुन २१ मा तोकिएको मध्यावधि निर्वाचनले कुनै पनि प्रकारको राजनीतिक समाधान नदिने दाबी गरेका छन्।
बुधबार बसेको राप्रपाको केन्द्रीय समिति बैठकलाई सम्बोधन गर्दै लिङ्देनले यस्तो दाबी गरेका हुन् ।
उनले भने, 'वर्तमान राजनीतिक व्यवस्थाले न त स्थायित्व दिन सकेको छ न त देशले अपेक्षा गरेको विकासको ढोका खोल्न । यस्तो अवस्थामा एउटै प्रणाली टिकाएर पुनः चुनावमा जाने निर्णय ‘अर्थहीन कदम’ भएको छ ।'
'असफल भइसकेको संविधानलाई नै टेकेर, उही निर्वाचन प्रणाली कायम राखेर फागुन २१ गते मध्यावधि निर्वाचन गर्ने निर्णय भएको छ। त्यसले मुलुकलाई न निकास दिनेछ, न समाधान। उल्टै त्यसले समस्या झनै जटिल बनाउनेछ,' उनले थपे ।
लिङ्देनले आगामी निर्वाचनभन्दा पहिले ‘पूर्व राजा र राजनीतिक दलहरूबीच नयाँ राष्ट्रिय समझदारी’ आवश्यक रहेको बताए ।