काठमाडौं । राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले सार्वजनिक स्थल खाली गर्ने नाममा मन्दिर, विद्यालय तथा बौद्ध गुम्बा भत्काइएको घटनाप्रति कडा आपत्ति जनाएका छन् ।
प्रधानमन्त्री बालेन्द्र शाह लाई लक्षित गर्दै उनले यस्तो कदम हतारमा र अपर्याप्त तयारीका साथ चालिएको भन्दै अस्वीकार्य भएको बताएका हुन्।
सामाजिक सञ्जालमार्फत प्रतिक्रिया दिँदै लिङ्देनले मन्दिर, विद्यालय र गुम्बाजस्ता संरचना स्वाभाविक रूपमा सार्वजनिक स्थलमै रहने उल्लेख गरे।
ती संरचनाको संरक्षण नगरी हटाउने कार्यले जनआस्था र सामाजिक मूल्यहरूमाथि गम्भीर चोट पुगेको उनको भनाइ छ।
‘सार्वजनिक स्थल खाली गर्ने नाममा अति हतारमा मन्दिर, स्कूल र बुद्ध जयन्तीकै दिन बौद्ध गुम्बा भत्काइनु कतैबाट उचित होइन,’ उनले लेखेका छन्, ‘यस्ता सार्वजनिक संस्थाहरू सार्वजनिक स्थलमै हुन्छन् भन्ने कुरा सर्वविदित छ।’
लिङ्देनले विकासको नाममा मानवीय संवेदनालाई बेवास्ता गर्न नहुने चेतावनी पनि दिएका छन्। ‘विकास जीवनका लागि हुनुपर्छ, जीवन विकासका लागि होइन,’ भन्दै उनले बस्ती हटाउने क्रममा उत्पन्न मानवीय क्षतिप्रति गम्भीर चिन्ता व्यक्त गरे।
उनका अनुसार मानिसको सम्पत्तिभन्दा आस्थामाथि हुने आक्रमण झन् खतरनाक हुन्छ। इतिहास, धर्म र परम्पराको संरक्षण गर्दै गरिने विकास मात्रै दिगो र स्थिर हुने उनले उल्लेख गरे।
सरकारले पर्याप्त गृहकार्य नगरी हतारमा निर्णय लिएको आरोप लगाउँदै लिङ्देनले विकासका योजनामा सांस्कृतिक र धार्मिक पक्षलाई समेत संवेदनशील ढंगले समेट्न आग्रह गरेका छन्।