काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले पृथ्वी जयन्ती भव्य रूपले मनाउने निर्णय गरेको छ ।
३०४औँ पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस मनाउन अध्यक्ष राजेन्द्र लिङ्देनको अध्यक्षतामा मूल समिति गठन गरिएको छ । साथै, विभिन्न उपसमितिहरू गठन गरिएको प्रवक्ता मोहनकुमार श्रेष्ठले जानकारी दिए ।
पृथ्वी जयन्ती समारोहका लागि राप्रपाले मञ्च व्यवस्थापन र जलपानको व्यवस्थाका लागि पार्टी केन्द्रीय सचिवालयलाई, अतिथि सत्कार र निमन्त्रणा वितरणका लागि महामन्त्री भुवन पाठकलाई जिम्मेवारी दिएको छ ।
स्वयंसेवक परिचालनका लागि पार्टीको युवा संगठन र युवा मोर्चालाई, र्याली र झाँकीका लागि काठमाडौं, भक्तपुर र ललितपुर जिल्लालाई एवं नेवाः झाँकीका लागि राजेन्द्र प्रजापती र नूरज बज्राचार्यलाई संयोजनको जिम्मेवारी दिएको छ ।
पृथ्वी जयन्ती मनाउन उपाध्यक्ष उद्धब पौडेलको संयोजकत्वमा समिति गठन गरिएको छ भने प्रवक्ता मोहनकुमार श्रेष्ठको संयोजकत्वमा केन्द्रीय सदस्यद्वय जनकराज पाठक र उद्धवराज भेटुवाल सदस्य रहेको प्रचार समिति गठन गरेको राप्रपाले जनाएको छ ।
राष्ट्रनिर्माता पृथ्वीनारायण शाहलाई राप्रपाले आदर्श पुरुष घोषणा गरेको छ ।