काठमाडौं । विघटित प्रतिनिधिसभाका स्वतन्त्र सांसद अमरेश सिंहले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेसँग नक्खु कारागारमा भेटवार्ता गरेका छन् ।
मंगलबार नक्खु कारागार पुगेर सिंहले लामिछानेसँग देशको राजनीतिक भविष्य र नयाँ सहकार्यको सम्भावनाबारे गम्भीर चर्चा गरेका हुन् ।
उनले लामिछानेसँग करिब एक घण्टा भेटवार्ता गरेको बताउँदै जनताको आस्था कसरी पुनःस्थापित गर्ने भन्ने मुख्य एजेन्डामा छलफल केन्द्रित भएको बताए । सिंहका अनुसार जनता दशकौँदेखि एउटै नेताको चक्रमा अल्झिन बाध्य भएका छन् ।
उनले कटाक्ष गर्दै भने,'०४७ सालमा शेरबहादुर देउवा, ०८२ सालमा फेरि उही देउवा । ०५१ सालमा केपी ओली गृहमन्त्री, ०८२ सालमा उही ओली प्रधानमन्त्री। अब पनि त्यही मौकाको प्रतीक्षा छ । जनताले परिवर्तन चाहिरहेको छ।'
भेटमा राजनीतिक सहकार्य र कार्यगत एकताको विषयमा सकारात्मक सहमति बनेको सिंहले बताए। सिंहले आगामी राजनीतिक यात्रामा बालेन साह, रवि लामिछाने, कुलमान घिसिङ र जेन–जी पुस्ताका अभियन्ताहरू मिलेर नयाँ राजनीतिक विकल्प तयार गर्नुपर्ने आवश्यकता औंल्याए।