काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले आफूमाथि दायर मुद्दा राजनीतिक प्रतिशोधका आधारमा लगाइएको दाबी गर्दै वर्तमान सरकारको स्पष्ट धारणा माग गरेका छन् ।
कारागारबाट बुधबार जारी चार बुँदे सन्देशमार्फत उनले न्याय, राजनीति र वैकल्पिक नेतृत्वबारे आफ्ना धारणा सार्वजनिक गरेका हुन् ।
लामिछानेले अघिल्लो सरकारले प्रतिशोधका आधारमा मुद्दा लगाएको भन्दै, अब वर्तमान सरकारले त्यसमा आफ्नो “निष्पक्ष र स्पष्ट अभिव्यक्ति” दिनुपर्ने माग गरेका छन् । उनले भनेका छन्, 'फेवर होइन, धारणा चाहिएको हो। हिजो ‘अन्याय भयो’ भन्नेहरूले आज केही त बोल्नुपर्छ।'
रास्वपा सभापतिले जारी चार बुँदे सन्देशमा देशको राजनीति, नेतृत्व र वैकल्पिक शक्ति निर्माणबारे तीखा टिप्पणी गरेका छन् । अघिल्लो सरकारले राजनीतिक प्रतिशोधका आधारमा आफूमाथि मुद्दा लगाएको भन्दै उनले वर्तमान सरकारको धारणा मागेका छन् । 'फेवर होइन, न्याय अपेक्षा हो,' उनले बताएका छन् ।
पछिल्लो जनमतका आधारमा रास्वपा अब चौथो शक्तिको रूपमा वैकल्पिक र परिवर्तनकारी दल तथा व्यक्तिहरूलाई एकीकृत गर्ने जिम्मेवारीमा रहेको उनले स्पष्ट पारेका छन् । आवश्यक परे नेतृत्व र त्याग दुबै गर्न तयार रहेको उनले उल्लेख गरे ।
उनले राजनीतिक अवसरवादीहरूलाई लक्षित गर्दै भनेका छन्, 'एकपटक चिठ्ठा परेकाहरू पटक–पटक परोस् भन्ने सोच राख्छन्, तर संयोग दोहोरिँदैन। लोभीहरूले चिठ्ठा किन्न सक्छन्, तर हरेक जालमा माछा पर्दैन।'
रास्वपालाई दीर्घकालीन रूपमा मुलुकको नेतृत्व गर्ने दल बनाउने लक्ष्यमा आफू अडिग रहेको बताउँदै उनले भनेका छन्, 'क्षणिक लाभ–हानी सोचेर पार्टी बनिँदैन। परिस्थिति जे भए पनि रास्वपालाई एक नम्बरको शक्ति बनाउने दृढता कमजोर हुने छैन।'