काठमाडौं । जिल्ला प्रशासन कार्यालय काठमाडौंले नेकपा एमाले सम्बद्ध युवा संघले भोली (असोज २५ गते शनिबार) गर्ने भनिएको मोटरसाइकल र्याली र सभा गर्न रोक लगाएपछि एमालेका युवा नेता महेश बस्नेतले त्यसको विरोध गरेका छन् ।
सामाजिक सञ्जाल फेसबुकमा काठमाडौं प्रशासनले जारी गरेको विज्ञप्ति राख्दै उनले आवाज सुन्ने संस्कार चाहिन्छ भन्दै जनताको आवाज रोक्ने प्रयास लोकतन्त्र माथिको गम्भिर प्रहार भएको बताएका छन् ।
उनले लेखेका छन्–‘लोकतन्त्रमा प्रतिबन्ध होइन, आवाज सुन्ने संस्कार चाहिन्छ सरकार । शान्तिपूर्ण कार्यक्रम रोक्न गृह मन्त्रालयले अधिकार दुरुपयोग गरेर जिल्ला प्रशासन मार्फत जनताको आवाज रोक्ने प्रयास गरिएको बिषय गम्भिर लोकतन्त्र माथिको प्रहार हो।’
आन्दोलनका घटनालाई बहाना बनाएर जनताको अभिव्यक्तिको अधिकारमाथि लगाइएको प्रतिबन्ध लोकतन्त्र, विधिको शासन र जनसत्तामाथिको सीधा प्रहार भएको पनि उनको भनाई छ ।
उनले भनेका छन्–‘सरकार जनताको आवाजसँग डराएको छ। नेकपा एमाले र युवा संगठनले यसलाई गम्भीरतापूर्वक लिएको छ । आवश्यक परे संविधान र लोकतन्त्रको पक्षमा प्रतिरोधका लागि सबै जना तयार हुनुपर्छ।’
युवा संघले शनिबार काठमाडौंमा मोटरसाइकल र्याली र आयोजना गर्ने घोषणा गरेको थियो । तर, काठमाडौंका प्रमुख जिल्ला अधिकारी ईश्वरराज पौडेलले भने कुनै पनि समूह वा संगठनलाई र्याली, जुलुश र सभा जस्ता कार्यक्रम गर्न अनुमति नदिइएको भन्दै आज विज्ञप्ति जारी गरेका हुन् ।