काठमाडौं । नेकपा एमालेका सचिव महेश बस्नेतले पार्टी अध्यक्ष केपी शर्मा ओलीको राजीनामा माग्ने नेताहरूलाई ‘अपराधी’को संज्ञा दिएका छन् ।
शनिबार भक्तपुरको गुन्डुस्थित ओली निवासमा बसेको सचिवालय बैठकमा सचिव बस्नेत ओलीको पक्षमा कडा रूपमा उभिएका हुन् ।
बैठकमा पार्टी नेतृत्व परिवर्तनको विषयले तीव्र बहस सिर्जना गरेको छ । उपाध्यक्ष विष्णु पौडेल, पृथ्वीसुब्बा गुरुङ, रघुजी पन्त र गोकर्ण विष्टसहितका नेताहरूले ओलीले मार्गप्रशस्त गर्नुपर्ने धारणा राखेका थिए ।
यता, उपाध्यक्ष रामबहादुर थापाले भने ओली नेतृत्वको बचाउ गर्दै वर्तमान नेतृत्वलाई निरन्तरता दिनुपर्ने पक्षमा धारणा राखेका थिए।
सचिव बस्नेतले भने नेतृत्वविरुद्ध उठाइएका आवाजलाई कडा शब्दमा आलोचना गर्दै भने, “संकटको बेला नेतृत्वलाई संरक्षण गरेर अघि बढ्नुपर्छ। यस्तो बेला राजीनामा माग्नेहरू अपराधी हुन् ।”
बैठकमा महासचिव शंकर पोखरेलसहितका नेताहरूले समेत वर्तमान नेतृत्वबाट पार्टी सञ्चालन कठिन भएको भन्दै पुनर्गठनको आवश्यकता औंल्याएका छन्। उनीहरूले ओलीलाई मार्गप्रशस्त गर्न सुझाव दिएका छन्।