काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेतृत्व नछोड्ने घोषणा गरेका छन् ।
बुधबारदेखि काठमाडौंमा सुरु भएको एमालेको राष्ट्रिय कार्यशाला उद्घाटन समारोहमा बोल्दै ओलीले पार्टी अफ्ठ्यारो अवस्थामा रहेको बेला तत्काल नेतृत्व नछाड्ने बताएका हुन् ।
नेतृत्व छाड्छ कि भन्ने कुनै आशङ्का नराख्न भन्दै ओलीले भने- 'मैले बीचमै झोला फ्याँकेर अलपत्रै छोडेर हिँड्ने हो कि भन्ने, त्यो आशङ्का मनमा नलिनुहोला । म अप्ठ्यारो परिस्थितिसँग जुधेर, पार्टीलाई अगाडि बढाएर, पार्टीलाई सफलतामा पुर्याएर अनि विश्राम लिन्छु ।'
पुस ३ गते अप्ठ्यारो अवस्थाको पनि सामना गर्नका लागि आफूलाई अध्यक्ष छानेको उनले बताए ।
उनले थप भने- 'गएको ३ पुसमा मलाई अध्यक्ष छान्नुभएको थियो । विश्राम लिनुपर्ने अवस्थामा विधिसम्मत लिन्छु।'
निर्वाचनपश्चात् गौरवपूर्ण इतिहास बोकेको पार्टी कमजोर स्थितिमा पुगेको भन्दै पार्टीका विभिन्न नेताहरुले देश र जनताको हितमा निस्वार्थ भावना बुझेर नेतृत्वबाट बिदा लिन सुझाव दिइरहेका बेला ओलीले यस्तो भनेका हुन् ।
अध्यक्ष ओलीले तीन कार्यकाल नेतृत्व गरिसकेकोले अब युवा पुस्तालाई विश्वास गरेर नेतृत्व हस्तान्तरण गर्नुपर्ने उनीहरुको भनाई छ ।