काठमाडौं। राष्ट्रियसभा बैठक पनि २६ जेठमा बस्नेगरी स्थगित भएको छ।
बुधबार बैठक सुरु हुनासाथ राष्ट्रिय सभा सदस्यहरूले नेपाल-भारत सीमासम्बन्धी विषयमा प्रधानमन्त्री वालेन्द्र शाहले दिएको आफ्नो अभिव्यक्ति नसच्याएसम्म बैठकको काम-कारबाही अघि बढ्न नदिने अडानसहित उठेर विरोध जनाएका थिए ।
त्यसपछि बैठकमा बोल्दै केही राष्ट्रिय सभा सदस्यहरुले प्रधानमन्त्रीले दिएको अभिव्यक्ति गैरजिम्मेवार र तथ्यहीन भएकाले माफी माग्दै अभिव्यक्ति फिर्ता लिनुपर्ने बताएका थिए ।
सांसदहरूले उठेर निरन्तर विरोध जनाएपछि राष्ट्रिय सभा अध्यक्ष नारायणप्रसाद दाहालले बसेर सदन सञ्चालनका लागि आग्रह गरेका थिए। विरोध कायमै रहेपछि उनले २६ जेठमा बस्ने गरी बैठक स्थगित गरेका हुन्।
मंगलबार पनि कार्यसूचीमै प्रवेश नगरी बैठक स्थगित भएको थियो ।
उता मंगलबार ढिलोगरी सुरु भएको प्रतिनिधिसभा बैठकमा विपक्षीहरुले नाराबाजी नछाडेपछि कार्यसुचीमै प्रवेश नगरी बैठक २५ गतेसम्मका लागि स्थगित सभामुख डोलप्रसाद अर्यालले जानकारी गराएका थिए ।
प्रधानमन्त्री वालेन्द्र शाह ‘बालेन’ को ‘नेपालले पनि भारतीय सीमा मिचेको छ’ भन्ने अभिव्यक्तिपछि विपक्षी दलहरुले संसदमा विरोध जनाइरहेका छन् ।
सांसदहरूको विरोधका कारण केही दिनदेखि सदनका दुबै बैठक प्रभावित हुँदै आएका छन्।